
काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदकतालिकामा नेपालको अग्रता कायमै छ । आज साइक्लिङमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २७ पुगेको हो ।
कराँतेमा नेपालले अर्को स्वर्णपदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्णपदक जितेकी हुन् ।
उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।
त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ ।
यस्तै साइक्लिङको डाउनहिल तर्फ भएका महिला तथा पुरुष दुवै स्पर्धामा नेपाल विजयी भएको छ । महिलातर्फ निष्मा श्रेष्ठ स्वर्ण र जमुना थापा रजत पदक जित्न सफल भएका छन् ।
पुरुषतर्फ राजेश मगर स्वर्ण र निरज श्रेष्ठले रजत पदक हात पारे । दुवै खेलाडीले एक मिलोमिटरको दूरी क्रमश एक मिनेट ४९ सेकेण्ड र एक मिनेट ५० सेकेण्डमा दुरी पारे गरेका छन् ।
त्यसैगरी उसुको थाउलोतर्फ दिपक अधिकारीले स्वर्ण पदक हात पारेका छन् ।
२४ स्वर्ण पदकसहित भारत दोस्रो स्थानमा रहँदा ७/७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।
पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ ।
पुछारको भुटानको तीन कास्यपदकमात्र छ ।
प्रतिक्रिया दिनुहोस्