-अनिल तिवारी/ईमेज
बारा । बलिको रुपमा रहेको विश्वप्रसिद्ध गढीमाई मेला मंगलबारबार सुरु भएको छ । बाराको बरियापुरमा एक महिनासम्म चल्ने मेलामा दर्शनार्थीहरुको ओइरो लागेको हो ।
विश्वमै सबैभन्दा बढी बलि चढाउने मेलाको रुपमा चर्चित बाराको गढीमाइ मेला मंगलबार बिहान पञ्चबलीसहितको विशेष पूजा भएसँगै सुरु भएको छ ।
बाराको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षीय मानव सागर उर्लेको देखिन्छ । नेपाल तथा भारतबाट आउने दर्शनार्थीहरुको चाप बढ्दै गइरहेको छ ।
मन्दिरको १५ किलो मिटरसम्मको क्षेत्रमा वृत्ताकार रुपमा दर्शनार्थीहरुको जमघटले सुरक्षाकर्मीलाई समेत व्यवस्थापनमा हम्मेहम्मे भएको छ ।
हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध मेलामा मंगलबारबाट चौपाया बलि दिने क्रम सुरु भएको हो ।
बारा पर्साका विभिन्न नाकाहरुबाट हजारौंको संख्यामा भक्तजनहरू ट्याक्टर, जीप, कार, भ्यान, मोटरसाइकलबाट आइरहेका छन् ।
विभिन्न मनोकांक्षा पूरा होस् भनेर बलि चढाउने गरिँदै आएकामा सर्वोच्च अदालतको आदेशपछि भने बलिलाई निरुत्साहित बनाउने अभियानमा लागेको मेला मूल समितिका महासचिव मोतीलाल शाहको भनाइ छ ।
भारतबाट भित्रिने भक्तजनहरूले बलिका लागि ल्याएका बोका, राँगा भने भारतीय सीमा सुरक्षाबलले नियन्त्रणमा लिने गरेको छ ।
भारत सरकारले पशुबलीमा लगाएको रोकका कारण बलिका लागि ल्याइएका बोका, राँगालाई सुरक्षा बलले सीमामै बलि दिन लगाउने र मानिसलाई मेला भर्नका लागि भने जान दिने बताएको छ ।
यता गढीमाई मेलाको विशेष पूजाको अवसरमा मगंलबार प्रदेश २ सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।
एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्