Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


मुख्यमन्त्रीको निवासमा ‘बन्धक’ बनाइयाे, ट्वाइलेटको चप्पल लगाएर भागेँ- विमला वली


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको बताउनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको खुलासा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा सांसद् वलीले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पार्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको उल्लेख गर्नुभएको छ ।

नेपालगन्ज उपचारका लागि जान लागेको आफूलाई एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपालगन्ज पुर्‍याइदिने भन्दै घरमै आएर गाडीमा राखेर नेपालगन्ज नगई बुटवलतर्फ हुइँक्याएर मुख्यमन्त्रीको निवासमा लगेको सांसद वलीको आरोप छ।

वलीले साउन १६, १७, १८, १९ र २० गते मुख्यमन्त्री निवासमा थुनेर राखिएको र १८ गते विज्ञप्ति लेखेर पढ्नै नदिई हस्ताक्षर गराई बाहिर ल्याएको बताउनुभएको छ । आफू २० गतेका दिन मौका छोपी ट्वाइलेटमा प्रयोग गर्ने चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यलय गएको पत्रकार सम्मेलनमा सांसद वलीले जानकारी दिनुभयो ।