२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


विवेकशील साझा पार्टी बहसको केन्द्रविन्दुमा


0
Shares

खिलनाथ ताजपुरीया
काठमाडौं, साउन २० । नेतृत्वमा युवाहरुको आक्रामक उपस्थितिसहित वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टी यतिबेला बहसको केन्द्रविन्दुमा छ । पार्टी अध्यक्षले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको आवाज उठाएपछि पार्टीको गन्तव्यका विषयमा बहस शुरु भएको हो । जनआन्दोलनका उपलब्धीको रक्षा गर्दै अगाडि बढ्ने संकल्प लिएको पार्टी जनआन्दोलनका उपलब्धीमाथि नै धावा बोल्ने अवस्थामा कसरी पुग्यो ?

सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्ने विवेकशील साझा पार्टीमा संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने प्रस्तावले पार्टीमा विवाद सुरु गरिदिएको छ । विवेकशील साझा पार्टीका अध्यक्षबाटै आएको दस्तावेजले पार्टीमा वैचारिक टकरावको स्थिति सिर्जना गरेको र यसले पार्टी स्थापनाको औचित्य नै खतरामा परेको ठहर असन्तुष्ट नेताहरुको छ ।

त्यसो त मिश्रको प्रस्ताव पार्टीमा पटक–पटक उठेका विषय भएकोले नेताहरु अस्वाभाविक मान्दैनन् । पार्टी सचिवालय सदस्य प्रकाशचन्द्र परियारले मिश्रले उठान गरेको विषयले वैचारिक वहस आरम्भ गएको बताउनुहुन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रका कमिकमजोरीलाई सम्बोधन गर्न सुरु भएको बहसलाई संविधान बाहिर भन्न नमिल्ने कतिपयको नेताको ठम्याइ छ । पार्टीमा सुरु भएको बहसमा छलफल गरी महाधिवेशनले अन्तिम निक्र्यौल निकाल्ने सचिवालय सदस्य परियारको भनाइ छ ।

नेपाली राजनीतिमा अतिवाद हावी छ । हुनैपर्छ र हुनै हुन्न भन्ने आवाज हावी भइरहेका बेला एउटा जिम्मेवार राजनीतिक पार्टीले चर्चा पाएको विषयमा लोकतान्त्रिक अभ्यासको बहस ल्याउनु नाजायज होइन । यसैलाई आकास खस्न लागेको रुपमा व्याख्या गर्नु उचित हुन्न ।