Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


४५ महिनामा सक्ने गरी बुटवल नारायणगढ सडक विस्तारको काम सुरु


0
Shares

 -विवेक भण्डारी /ईमेज

नवलपुर, मंसिर १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल नारायणगढ सडकखण्ड बिस्तारको काम सुरु भएको छ ।

१ सय १३ किलोमिटर लामो उक्त सडकखण्ड ४ लेनमा विस्तार गर्ने योजना अनुसार निर्माण कार्य सुरु भएको हो ।

राष्ट्रिय आयोजनाअन्तर्गत बुटवल सडकखण्ड विस्तार कार्यको पूर्वी खण्डअन्तर्गत गैँडाकोट–दाउन्ने भागको साढे ६४ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर सडक पर्दछ ।

जसअनुसार पूर्वी खण्डको लागि ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ र पश्चिमी खण्डको लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

४५ महिनामा काम सम्पन्न गर्ने गरी निर्माणको काम सुरु भइसकेको छ । जसअन्तर्गत गैँडाकोट, दलदले, प्रगतिनगर र कावासोतीमा ६ लेनको सडक बनाइने र अन्य ठाउँमा ४ लेनमा सडक विस्तार गरिने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर शिव खनालले जानकारी दिए ।

निर्माणको कामलाई ३ चरणमा विभाजन गरिएको छ ।  पहिलो चरणमा २०७५ चैत्र ८ गते प्रधानमन्त्री केपी ओलीले बुटवलबाट आयोजनाको शिलान्यास गरेका थिए ।

तर रुख कटानको स्वीकृति नपाएपछि काम सुरु हुन सकेको थिएन । दुई साताअघि देखि दोस्रो चरणको काम नलपुरको गैडाकोट र कावासोतीबाट एकसाथ सुरु भएको छ ।

अहिले सडक निर्माण क्षेत्रमा पर्ने रुखहरु कटान र खानेपानी पाइपको निरीक्षण भइरहेको छ । सडकका अधिकांश स्थानमा जंगल क्षेत्र रहेकाले  जंगली जनावरको सहज आवागमनका लागि जैविक मार्ग समेत निर्माण गरिने इन्जिनियर शिव खनालको भनाइ छ ।

पछिल्लो समय बढ्दो क्रममा रहेको सवारी चाप र साँघुरो सडकका कारण दैनिकजसो साना ठुला दुर्घटना भइ नै रहेका थिए ।

बढी दुर्घटनाग्रस्त यो सडकखण्डको विस्तारले पक्कै पनि त्यसको न्यूनीकरणमा सहयोग पुग्नेछ ।