२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी


0
Shares

डोटी, मंसिर १५ । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा छ सय ६८ ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल छ सय ५६ मत प्राप्त गरेका छन् ।

वडाभरिमा कूल दुई हजार चार सय मतदाता रहेकामा कूल एक हजार पाँच सय ९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको वि.सं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ पाँच सय २८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले तीन सय १० मत प्राप्त गरेका छन् । उक्त मतदानमा कूल नौं सय २४ मत खसेको थियो ।

स्थानीय तहको निर्वाचनमा वडा नं. ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का सात सय ७८ मत ल्याई विजयी बनेका छन् । भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले पाँच सय ६३ मत ल्याएका छन् । गएको चुनावमा उक्त वडामा कांग्रेस विजयी भएको थियो ।

कूल एक हजार  नौं सय मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार तीन सय ५७ मत खसेको थियो । सोह्र मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उनी विजयी भएका हुन् । विजयी बुढाले तीन सय ६७ मत प्राप्त गरेका छन् ।

तत्कालीन वडाध्यक्ष खम्म नेपालीको वि.सं २०७५ असार १३ गते जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।

बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामध्ये दुई वडामा कांग्रेस, र एक वडामा नेकपा विजयी भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक एक सय पाँच मत बढी लिएर विजयी भएका छन् । कूल खसेको एक हजार तीन सय ३० मतमध्ये विजयी धानुकले छ सय ६३ मत प्राप्त गरेका छन् । भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले पाँच सय ५८ मत प्राप्त गरेका छन् ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा चार सय ३८ मतमध्ये दुई सय १९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले दुई सय १५ मत प्राप्त गरे । चार मत बदर भएको छ ।

दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए । रासस