Logo २० भाद्र २०८३, शनिबार | Sun Sep 6 2026


टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’


0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले आफू एमालेमा नगएको र अझै माओवादीमै रहेको बताउनुभएको छ ।

बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो ।

‘केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले)मा आजसम्म म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन, एमाले पार्टीको सदस्यता लिएको छैन,’ उहाँले रिट निवेदनमा उल्लेख गर्नुभएको छ, ‘मिति २०७८ असार २३ गते मैले निर्वाचन आयोगबाट निवदेन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन ।’

माओवादी पार्टीले कारबाही गर्दा आफूलाई स्पष्टिकरण नसोधेको उल्लेख गर्दै रायमाझीले आफूलाई स्पष्टिकरणको मौका नदिइएको रिट निवदेनमा बताउनुभयो ।

उनीसँगै माओबादी छोडेर एमालेमा प्रवेश गरेका लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाहले पनि सांसद् पदको पनुर्बहालीको माग गर्दै रिट निवदेन पेश गरेका छन् ।