३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


चार महिनामा निर्यात २४ प्रतिशतले बढ्यो


0
Shares

काठमाडौं, मंसिर १४ । नेपालको निर्यातमा चालू आर्थिक वर्षको पहिलो चार महिनामा २४ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको कात्तिक मसान्त आयातमा ६.९२ प्रतिशतले कमी आउँदा निर्यात २३.९० प्रतिशत बढेको हो ।

यस अवधिमा चार खर्ब ५० अर्ब रुपैयाँको वस्तु आयात हुँदा ३६ अर्ब २७ करोडको वस्तु निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ८३ अर्बको वस्तु आयात हुँदा २९ अर्ब २८ करोडको मात्रै वस्तु निर्यात भएको थियो ।

पछिल्लो समय नेपालबाट सबैभन्दा बढी पाम आयल, सोयाबिन आयल, कालो चिया, ऊनी घागो तथा टेक्सटाइलजन्य वस्तुहरुको निर्यात बढेको हो ।

समीक्षा अवधिमा ८ अर्ब ३६ करोडको पाम आयल निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

यसै अवधिमा दुई अर्ब २८ करोडको सोयाबिन आयल निर्यात भएको छ ।

यस्तै, कालो चिया एक अर्ब ३८ करोडको, एक अर्ब ५ करोडको फेब्रिक एक अर्ब ३९ करोडको गलैंचा तथा टेक्सटाइल निर्यात भएको भन्सार विभागले जनाएको छ ।

नेपालबाट भारत, चीन, बंगलादेश, थाइल्यान्ड, पाकिस्तान, अमेरिकालगायतका मुलुकहरुमा वस्तु निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।

यो अवधिसम्म नेपाल १२७ मुलुकसँग व्यापार घाटामा रहेको छ ।

भारत, चीन, इन्डोनेसिया, अमेरिका, क्यानडालगायतका मुलुकहरुसँग नेपाल व्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ ।