ती ओली र यी देउवा « Image Khabar


ती ओली र यी देउवा


Border circle
Imagekhabar

पेशल आचार्य

समय उसको रफ्तारमा दौडिरहेको छ । प्रकृति चलायमान छ । यावत् सृष्टि र सन्दर्भहरू आउनेजाने क्रम चलिरहेको छ । यहाँ जड केही र कोही छैनन् । न ती आफ्ना मनले गतिशील भएका हुन् न कसैका जिद्दी या रहरले । आउनु/जानु सबैका नियती हुन् । आउँदा मानिस खुसी र जाँदा दुखित बन्छन् । यो शाश्वत नियम हो ।

चालीस महिना अघिदेखि गएको असार २९ गतेसम्म नेपाली राजनीति र शासन दुवैमा केपी ओलीको दब्दबा थियो । देखाउनलाई गणतन्त्र त थियो । संघीयता र धर्म निरपेक्षता पनि थिए । स्थानीय निकायहरू स्वतःस्फूर्तरूपमा क्रियाशील भएकै थिए । शक्तिपृथकीकरणको सिद्धान्तमा आधारित शासन व्यवस्था ‘बोल्ड’ मा थियो । भँजाउनका लागि अन्य धेरै कुराहरू साथमा थिए । समृद्धि र विकास थिए –नारामा । रेल, पानीजहाज, राजधानीमा मोनो/मेट्रो, स्मार्ट सिटी र नेपालका डाँडाडाँडामा भ्यु टावर सबैसबै थिए । अझै छन् । तर मात्र फरक छ हिजो केपी ओली थिए आज छैनन् ।

किन थिए भने उनले नेपाली राजनीतिका बोल्ड पात्र अर्का कम्युनिष्ट धूरी पुष्पकमल दहाल उर्फ प्रचण्डसँग घाँटी जोडेका थिए । उनले जोडेको घाँटीले उनैलाई चालीस महिनासम्म बेताब वादशाहको पगरी गुताएकै हो । संसदमा नेपाली काँग्रेसको उपस्थिति अत्यन्त कमजोर र निरीह थियो । सातमध्ये पाँच प्रदेशमा ओलीकै भैयारी मन पराउने उनकै कार्यकर्ताहरू मुख्यमन्त्री र मन्त्रीमा हालिमुहाली गरिरहेका थिए ।

७ सय ६३ वटा सरकार देशमा क्रियाशील थिए । बजेटले थेगोस् या नथेगोस् एउटा स्पिरिट थियो । जनतालाई दिन्छु भन्ने बहाना थियो । जनताका कोमल मनका वस्तीहरूमा खनजोत गरेर तत्तत् प्रविधिले सपनाका वीउहरू छरिएका थिए जुन कुनैकुनै केही मात्रामा पूरा हुन्थे भने केहीचाहिँ कहिल्यै पूरा नहुने खाले थिए । एक हिसाबमा भन्दा उनले जनतालाई ‘सनपापडी’ मिठाई दिन्छु भनेर आस देखाए । जो मुखमा नहालुन्जेल गुलियो होला भन्ने लाग्दथ्यो, मुखमा हालेपछि आपसेआप बिताउँथ्यो । मुखमै हराउँथ्यो घाँटी छिचोलेर तल जान पाउँदैनथ्यो ।

ती ओलीले प्रचण्ड र उनी मिलुन्जेल शासनमा तमासा देखाएकै हुन् । राजश्व, जासुस संयन्त्र र सम्पत्ति सुद्धीकरणजस्ता फरकफरक चरित्र र कार्य प्रकृतिका राष्ट्रिय ओज बोकेका अङ्गहरूलाई आफू मातहत ल्याएर अख्तियार, महालेखा, अदालत, निर्वाचन आयोग र राजदूतजस्ता पदहरूमा आफ्नो इसारामा काम गर्न सक्ने मान्छेहरूलाई संविधान, नियम, नीति र कानुन आदित्यादि सबै मिचेर भर्ती गरेकै हुन् । उनको शासन कालमा देखिएका शान्ति सुरक्षा, कोभिड रोगको स्वास्थ्य व्यवस्थापन, मन्त्री हेरफेर, आयुर्वेदिक अर्ती, देशको भूगोलका बारेमा बोलिएका र गरिएका राजनीतिक फण्डाहरू, मन्त्रीहरूका योग्यता / बोली / अभिव्यक्ति र उखानको व्यापारलाई हेर्दा नेपाली शासनको इतिहासमा यस्ता सर्वज्ञाता झैँ लाग्ने ‘कन्ट्रोभर्सियल’ प्रधानमन्त्री न देशले उनीभन्दा अघि पाएको थियो न उनीभन्दा पछि पाउने छ भन्ने विचारहरू सम्प्रेषित भए ।

गजबको कुरा के भने उनले सिँहदरबारमा बसेर शासन गर्नुपर्ने थियो । उनका पार्टीका काम कारबाहीहरू सबै धुम्बाराहीबाट सम्पादन हुनु पर्ने हो तर उनी मात्र त्यस्ता एक्ला प्रधानमन्त्री थिए जसले आफ्नो राजनीतिक तुम्लाकाम्लाहरू समेत सबै बालुवाटार लिएर गए । कोभिडको बहाना देखाउँदै होस् या राष्ट्रिय सम्पत्तिमा बेफ्वाँक तबरले उल्फाको धनमा फूपूको श्राद्ध शैलीमा होस् फुटअघि नेकपाका र फूटपछि नेकपा एमालेका सम्पूर्ण स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू समेत बालुवाटारमै सम्पन्न भए । यी कुराहरू बेलाबेलामा त्यस बेलाका पत्रपत्रिकाहरूले विरोध गरेर लेख्दथे तर उनलाई मतलब थिएन । उनको सोचले जे देख्थ्यो त्यो गर्दथे । जे भन्थ्यो त्यो गर्दथे । यो गर्न हुने र त्यो गर्न नहुने भन्ने उनका डिमार्केसन नै केही थिएनन् ।

एकजना पत्रकारले त्यो बेला हाकाहाकी नै भने –‘मिडियाले यति सारो खेदेको प्रधानमन्त्री सायद् नेपालमा ओलीबाहेक अरू थिएनन् ।’ सिक्काको दुइटै पाटा हुन्छ भनेझैँ उनले पनि मिडियालाई खेद्नसम्म खेदेका हुन् । उनका पालामा नेपालमा धेरैभन्दा धेरै पत्रकार सम्मेलनहरू र देशवासीका नाममा हजारौं भाव निःसृत सन्देशहरू प्रशारण भएकै हुन् अझ त्यो पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारबाट जहाँ उनलाई बस्न सरकारले सरकारी आवास उपलब्ध गराएको हो । उनको सत्ताबाट बहिर्गमन हुँदाको बालुवाटार टु बालकोटको यात्रा कुनै साउथ मुभीको इण्डिङ्जस्तो देखिन्थ्यो । हुन त यी तिनै केपी ओली हुन् जसले हिउँदताका आफ्ना बडेमानमा तस्वीरहरू होर्डिङ् बोर्डमा बनाउन लगाएर आमसभाहरू गरी प्रचण्ड–माधव समूहलाई तथानाम गाली गर्ने काम समेत गरे । निर्वाचित अध्यक्ष र कार्यकारी प्रधानमन्त्रीको अधिकार एउटै व्यक्तिमा रहेका बेलामा पनि आफ्नो पार्टी मिलाउन नसक्नु र देशीविदेशी शक्तिलाई धारेहात लगाएर गाली गरी सत्तोसराप गर्नु आकाशतिर हेरेर थुक्नुजस्तै मात्र सावित भयो । जुन ओलीले गरे । उनी नपत्याउँदो गरी सत्तामा चढे र त्यसैगरी ओर्लिए । सम्झिँदा पनि अहिले जुन दन्त्यकथाको मिथकजस्तो लाग्छ ।

बालुवाटार सरकारले देशको प्रमखु कार्यकारीलाई उपलब्ध गराएको निःशुल्क सरकारी निवास हो । सो निवासमा नितान्त कार्यकारीका व्यक्तिगत जीवनका काम, कार्यवाहीहरू हुनु पर्ने हुन् तर भैदिए के भने सारा पार्टी त्यहीँबाट चल्यो । भोजभतेर, जात्रा, प्रहसन, ठेक्कापट्टा, समृद्धि र विकासका मीमांशाहरू, नाटक, नौटङ्कीका अनेकानेक रिहर्षल र प्रदर्शन समेत त्यहीँबाट भए । जनता वाचाल भएर सुनिरह्यो । प्रतिपक्ष हराएको त्यो काग थियो जो दुई तिहाईको कुहिरो छिचोलेर कहिल्यै बाहिर आएन । जम्मा एक थान काँग्रेसी सांसद गगन थापा प्रधानमन्त्रीसँग संसदमा बेलाबेलामा जोरी खोज्थे । अनि युट्यूबमा दुवै ट्रोल भएर चर्चित हुन्थे ।

राजनीति एकप्रकारले हिन्दी थ्रिलर सिनेमा जस्तो भएको थियो । सांसद अपहरणका किस्सा बनेको मेरियट होटलको अन्तर्यदेखि लिएर गोयल भेटका भाष्यहरू समेत बालुवाटारमै रचिएका दुःखान्त काव्यका संकथनहरू थिए भन्दा अत्युक्ति हुँदैन । नेकपा फुटको मुखमा १९ पृष्ठे गाली र प्रत्युत्तरमा ३८ पृष्ठे प्रतिवादी वाचनसमेत त्यहीँबाट भैदिँदा नेकपाका भोटर, सोटर र कार्यकर्ताहरू नराम्ररी झुक्किए । एकप्रकारले बालुवाटार नेपाली राजनीतिमा यस्तो विम्ब बन्यो कि त्यो अलिकति पनि राजनीति बुझेका मानिसहरूले नकारात्मक रुपमै लिए । पहिले नेकपा र अहिले एमालेका लागि ओली महोदयको चालीस महिने शासनकाल आँधीबेहरीले भरिएको कथाजस्तो भएर रहेको छ । सो कालको पछिसम्म सम्झना हुनेछ । केही सकारात्मक पक्ष र धेरै नकारात्मक पक्षहरूका उपमा र विशेषताहरूसहित ।

भन्नलाई उनका सिन्जाधुन्चा, पिछलग्गु, आसे, अरौटेभरौटेहरू भन्थे –‘ओली अकण्टक शासक हुन् । उनी बा हुन् । नेकपाका मसिहा हुन् । कल्याणकारी हुन् । अब नेपालमा दस/बीस वर्षसम्म कम्युनिष्टहरूको एकछत्त शासन चल्छ ।’ देखिएकै हो । भएको पनि थियो । चालीस महिनासम्म उनी नेकपाका अध्यक्ष त्यो जेटका पहिलो चालक थिए जसले अनेक लीला, रङ्ग, चटक र उधुम गरे नेपाली राजनीतिमा । एक होइन अनेक क्रियाप्रतिक्रियाहरू उनको शासनका लागि आयो । ओलीकै पालामा जो कोही पनि नेपाली नागरिकहरू राजदूत हुनका लागि स्नातक हुनु नपर्ने भनेर नियमै बन्यो । त्यसको फाइदा ओलीका राजनीतिक सल्लाहकार डा.राजन भट्टराई र गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खानालकी सासू आमाले पाइन् । उनी ओलीकै चुनाव क्षेत्र झापामा सरकारी स्कुलकी निमावि शिक्षक थिइन् ।

देशको दूत हुने मानिसले पर्याप्त कूटनीति, राजनीति र अब्बल ज्ञान पाउनु पर्दैन भनेर बाटाका मान्छेहरूलाई राजदूतमा नियुक्ति गर्दा सरकारी सेवामा भएका र बाहिरका पनि राम्रा मान्छेहरू जहिल्यै पाखा लागे । हाम्रा मान्छेहरू जहिल्यै शासनको न्यानोमा रहे । योग्यताकै दलिल दिएर ओलीले समूह पार्टी पंक्ति र कार्यकर्ताहरूको कडा रोषबीच पनि डा.युवराज खतिवडालाई अर्थमन्त्री र राजदूतमा च्यापिरहे । यद्यपि अर्थमन्त्रीमा खतिवडा आलोचित र असफल दरिए । अहिले अमेरिकाका राजदूत छन् र पनि साउण्ड लेस भएर बसेका छन् । खोप कूटनीतिमा नेपाली राजदूतहरूले जति चाँडो र धेरै गर्न सक्थे त्यति गर्न सकेनन् भनेर आम सञ्चार माध्यमहरूमा विरोध भएकै हो ।
ओली गए । देउवा आए । यो क्रम हिजो पनि थियो । ओलीले नै देउवालाई विस्थापित गरेका थिए । अहिले पनि देउवाले नै ओलीलाई विस्थापित गरे । अर्को तेस्रो नयाँ सोचसमझको, उमेरको, चिन्तनको र दर्शनको पात्र आउँछ भन्ने जनतालाई थियो । तर भैदियो पुरानै पात्रहरूको आगमनको सूचि ।

‘आफ्नो पाँचौं इनिङ्स्को शुरुआती क्षणमै देउवाले पुरना गल्ती, कमीकमजोरीहरूलाई सच्याउँदै आउनु पर्ने हो । अब फेरि प्रधानमन्त्री हुने पालो नआउन पनि सक्छ । सभापतिमै पार्टीमा बखेडा भैराछ । पुरानो छवि सपार्नका लागि देउवाले राम्रा काम गर्नै पर्दैन मात्र नराम्रा कामहरूलाई नदोहो¥याइदिए मात्र पुग्छ ।’ अहिले राष्ट्रिय राजनीतिमा यही भनाइहरू व्याप्त भैरहेका छन् । काँग्रेसलाई जनताको ठूलो भरोसा छ । जनताले पनि यी गएका चालीस महिनाहरू आफ्नो जीवनबाट पूरै सित्तैमा भुत्लेको अनुभव गरेका छन् । त्यसैले जनता एकफेर फेरि काँग्रेसपट्टि फर्केका छन् । यो बेलामा काँग्रेसले जनतालाई विमुख बनाइदियो भने जनता फेरि छिरलिन सक्छन् ।

तर सिर्जनात्मक निर्णयका जोखिमहरू देउवाबाट निर्वाह होला भनेर सोच्न सकिरहेकै छैनन् यतिखेर काँग्रेसी जनहरू । एकजना जिल्ला स्तरका नेता नाम नलेखिदिने सर्तमा भन्छन् –‘पहिले अरुको नाटक हेरेर हास्यौं । अब आफ्नो नौटङ्की हेरेर हाँस्ने पालो आएको छ ।’ यो भनाइमा गहिरो पिडा लुकेको छ । ‘एम्सीसी पास गराउने एकमात्र लक्ष्यका साथ यो सरकारको पदार्पण भएको हो । राजनीतिक वृत्तबाट त्यो सम्भव नदेखिएपछि अदालतलाई उपयोग गरी घुमाइफिराई देउवाको आगमन भएको हो ।

त्यसैले ओलीले चित्त दुखाएर ‘जनादेश भर्सेज परमादेश’ भनेका हुन् । हुन त ओली र देउवा अन्तर्राष्ट्रिय शक्तिका लागि एउटै हुन् । यिनीहरूको रुपमा पृथकता होला तर सारमा छैन । यो कुरा विदेशीलाई थाहा छ । यहाँ दुई तिहाई लगभगको सरकार खस्कँदैखस्कँदै गई अन्त्यमा आफ्नै पार्टीका नेता र कार्यकर्ताहरूले विश्वास नगर्ने स्थितिमा पुगेर काँग्रेस आएको हो । काँग्रेस आएको होइन ल्याइएको हो ।’ यसले गर्नु पर्ने धेरै कम्फर्ट कामहरू छन् । तिनीहरूमा यसको दिल नजाला तर अनकम्फर्ट कामहरू यसले गठन भएकै दिनदेखि गर्न थालिसकेको छ । गच्छेदारको मुद्दामा धरौटीको आयतन, पूर्व प्रम झलनाथ खनाललाई दिएको उपचार खर्च र अहिले आएर चौतर्फी आलोचना हुँदाहुँदै पनि बोर्डिङ् स्कुलका मालिक तथा काँग्रेसी सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको चाबी बुझाइनुले आगे देउवा सरकारले गर्ने कामहरू जनप्रिय नहुने देखिएका छन् ।

सारमा, जनतालाई ती केपी ओली र यी शेरबहादुर देउवामा केही भिन्नता नलाग्ला तर रुप, बोली, वचन र हास्य भावमा भने अनेक पृथकताहरू जँच्न सक्छन् । आगे राजनीति तरल छ । जे हुन्छ त्यो भनिँदैन र जे भनिन्छ त्यो हुँदैन । यो कुरा जनतालाई भलिभाँती थाहा छ ।

प्रतिक्रिया दिनुहोस्