दिल्लीमा नेपाली राजदूतको फोन ट्यापिङ : चीन, पाकिस्तान र इरानका राजदुत पनि निशानामा « Image Khabar


दिल्लीमा नेपाली राजदूतको फोन ट्यापिङ : चीन, पाकिस्तान र इरानका राजदुत पनि निशानामा


Imagekhabar
६ श्रावण २०७८, बुधबार ०९:०३

काठमाडौं । भारतले नेपालका राजदूतसहित सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोन जासुसी गरेको सार्वजनिक भएको छ ।

दिल्ली मिसनमा रहेका नेपालसहित चीन, इरान, पाकिस्तान र साउदी अरबियाका राजदूतको फोन गैरकानुनी तरिकाले ह्याक गरेर नियमित जासुसी गरेको खबर बाहिरिएको हो ।

इजरायली कम्पनी एनएसओले बनाएको जासुसी सफ्टवेयर पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ ।

निगरानीमा राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीहरु परेका छन् ।

एनएसओले आतंकवादी गतिविधिको सूचना संकलन गर्ने उद्देश्यले पेगासस बनाएको दाबी गरेको छ । तर, भारतमा भने सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोनमा पेगाससबाट हमला गरिएको पुष्टि भएको छ ।

कुनै पनि नागरिकको फोन जासुसी गर्नु गम्भीर अपराध मानिन्छ । नेपाली राजदूतको फोन ट्यापिङको विषयमा नेपाल सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

परराष्ट्र मन्त्रालयले फोन जासुसीबारे भारत सरकारबाट जानकारी माग्न दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यलाई निर्देशन पठाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्