काठमाडौं, मंसिर ११ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा योजनाबाट भाग्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् ।
सामाजिक सुरक्षा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले कल्याणकारी राज्यले श्रमजीवीको सुरक्षाका लागि ल्याएको यस योजनामा सबै प्रतिष्ठान तथा रोजगारदाताहरु सहभागी हुनुको विकल्प नै नरहेको बताए ।
राष्ट्रिय लक्ष्य पूरा गर्न ल्याइएको यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि सरकार गम्भीर रहेको पनि उनले उल्लेख गरे ।
श्रमिकले उचित श्रममूल्य पाउन तथा उद्योग र श्रमिकको उत्पादकत्व बढाउन पनि ऐन कार्यान्वयन आवश्यक रहेकोसमेत उपप्रधानमन्त्री पोखरेलले स्पस्ट पारे ।
सरकारले ल्याएको यस योजनाले लाखौं श्रमिकलाई स्वदेशमा नै काम गर्नसक्ने विश्वासको वातावरण तयार गर्ने उनको भनाइ छ ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सरकारले न्यून पारिश्रमिकमा जीवनयापन गरिरहेका श्रमिकहरुको सुरक्षाका लागि ल्याएको यस योजनामा सहभागी हुन सबैलाई आग्रह गरे ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषले योगदानकर्तालाई सहज बनाउन अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघका रोजगारदाता परिषद्का सभापति चन्द्र ढकालले व्यावहारिक कार्यान्वयनमा सहज नभएपनि योजनामा निजी क्षेत्रको सहभागिताकोे प्रतिबद्धता भने व्यक्त गरे ।
सरकारले गत वर्ष सुरु गरेको यस योजनामा हालसम्म ११ हजार रोजगारदाता आबद्ध हुँदा एक लाख १५ हजार बढी श्रमिकहरु सहभागी हुनपुगेका छन् ।
रोजगारदाता आबद्ध हुनेमा सबैभन्दा बढी प्रदेश नम्बर–३ बाट र दोस्रोमा प्रदेश नम्बर–१ बाट रहेका जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्