
समुद्रा घिमिरे
काठमाडौँ, मंसिर ११ । यस शरद ऋतुमा साना र नयाँ हिमालतर्फ आरोही आकर्षित भएका छन् ।
सात हजार मिटरभन्दा कम उचाइका पाँच हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ ।
पर्यटन विभागका अनुसार खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङखलामा पर्ने छ हजार सात सय ६४ मिटर उचाइको हांगु (सुरा पिक), छ हजार आठ सय ३३ मिटर उचाइको हुङ्कुचुली, दोलखाको रोल वालिङ क्षेत्रमा पर्ने छ हजार छ सय ५९ मिटर उचाइको लिङ्कुचुली हिमाल आरोहण गरिएको छ ।
गोरखाको मानसिरी हिमशृङ्खलामा पर्ने छ हजार छ सय २० मिटर उचाइको पान्पोचे (प्रथम) र छ हजार पाँच सय ४ मिटर उचाइमा रहेको पान्पोचे (दोस्रो) हिमालको पहिलो पटक आरोहण भएको छ । पाँच वटै हिमालको विदेशी आरोहीले आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
गोरखाको आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको एक सय ८८ आरोहीले गत महिना आरोहण सफल गरेका छन् ।
मनास्लुमा पर्यटन विभागवाट दुई सय ६४ आरोहीले आरोहण अनुमति लिएका थिए । अनुमति लिएकामध्येमा एक सय ४२ पुरुष र ४६ महिला गरी एक सय ८८ आरोहीले आरोहण सफल गरेका हुन्
घिमिरेका अनुसार आरोहीका साथ एक सय ६५ नेपाली गाइडले समेत आरोहण गरेका छन् । आरोही र गाइड गरी यो मौसममा मनास्लुमा तीन सय ५३ आरोहीले आरोहण सफल गरेका हुन् ।
मनास्लु आरोहणका लागि ४४ देशका आरोहीले अनुमति लिएकोमा ४० देशका आरोहीले आरोहण सफल गरेका हुन भने आरोहण सम्पन्न गर्नेमध्येमा चिनियाँ आरोहीको सङ्ख्या उच्च रहेको विभागले जनाएको छ ।
सोमबारको तथ्याङ्कअनुसार यस यामका लागि मात्रै विभागबाट ५३ हिमाल आरोहणका लागि ६२ देशका एक हजार दुई सय १० आरोहीले आरोहण अनुमति लिएका छन् ।
आरोहण अनुमति लिएको हिमालमध्येमा सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुन सकेन भने अन्य हिमालको आरोहण भइरहेको विभागले जनाएको छ ।
मनास्लु आरोहणका क्रममा पोल्यान्डकी ५० वर्षीया रीता डोनेटा ब्लाङ्य र हिमलुङ हिमाल आरोहणका क्रममा स्पेनका ४८ वर्षीय फर्नान्डो सान्चेज घासाको मृत्यु भएको विभागले जनाएको छ ।
विभागको होमस्टे तथा पर्वतारोहण विभागका निर्देशक मीरा आचार्यका अनुसार नेपाल सरकारले खुल्ला गरेको चार सय १४ हिमालमध्येमा ७६ हिमालको मात्रै आरोहण हुन बाँकी छ ।
यो यामका लागि अनुमति दिइएको हिमालबाट छ करोड ५१ लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्