
-सन्तोष पुर्कुटी/ईमेज
ताप्लेजुङ । पशुपालन व्यवसायका लागि उत्कृष्ट मानिँदै आएका ताप्लेजुङलगायतका उच्च पहाडी क्षेत्रमा पशु व्यवसायीको संख्या घट्न थालेको छ ।
चरन क्षेत्रको कटौती हुँदै जानु र जनशक्तिको पनि अभाव हुनुले पशुपालन व्यवसाय घट्न थालेको हो ।
कृषिलाई प्राथमिकतामा राखिएको हाम्रोजस्तो मुलुकमा कृषिको अग्रगामी छलाङ् बिना यहाँको विकास सम्भव छैन भन्ने स्पष्ट भइसकेको छ ।
तर पछिल्लो समय कृषिमा जनशक्तिको आकर्षण घट्न थालेको छ ।
पशुपालनका लागि उत्तम मानिएको हिमाली र पहाडी क्षेत्रमा पशुव्यवसायी घट्नुले सोही कुरालाई इंगित गरेको छ ।
ग्रामीण भेगका युवायुवतीहरुले विदेश र सहरी क्षेत्र रोज्न थालेपछि गोठमा बसेर काम गर्ने जनशक्ति पाउन मुस्किल छ ।
थोरै जनशक्तिले पशुपालन व्यवसाय सम्भव नभएकोले किसानहरु यस व्यवसायबाट पलायन भइरहेका हुन् ।
एकातिर जनशक्तिको अभाव त छँदैछ अर्कोतर्फ पशुव्यवसायका लागि चाहिने प्रशस्त चरन क्षेत्र र खर्कहरुपनि अहिले बाक्लो जंगलले छोपिएका छन् ।
जसले गर्दा पशुपालन गर्न असहज बन्दै गएको किसानहरुको गुनासो छ ।
तर सरकारले भने कृषि व्यवसायलाई प्राथमिकतामा राखेको कारण कुनै स्थानीय तहले पशुपालक किसानलाई प्रोत्साहन रकम दिने निर्णय गरेका छन् भने कुनैले भने बजेट छुट्याएर के गर्ने टुंगाउन सकेका छैनन् ।
खर्कहरु मासिँदै गएको र काम गर्ने जनशक्ति अभाव भएकोले सानो बजेटलाई कसरी व्यवसायीको हितमा प्रयोग गर्ने भन्ने अन्योल रहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताए ।
कृषिलाई विकासको खम्बा मान्दै आएको हाम्रोजस्तो मुलुकमा कृषकहरु धमाधम कृषि पेशाबाट पलायन हुनुले यस क्षेत्रमा सुलक्षण देखिएको छैन ।
पशुपालन मात्र होइन अन्य कृषि व्यवसायमा पनि अवस्था उस्तै रहेकोले सरकारले यसतर्फ उचित योजना बनाई यसतर्फ किसानलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्