
– विवेक भण्डारी/ ईमेज
नवलपुर । पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन थालेपछि नवलपुरमा होटल तथा रिसोर्टमा लगानी बढ्न थालेको छ ।
आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्दै गएसँगै होटल तथा रिसोर्टहरुमा लगानी गर्ने युवाहरुको आकर्षण बढ्दै गएको हो ।
नवलपुरका विभिन्न क्षेत्रहरु पर्यटकीय क्षेत्रको रुपमा परिचित हुन थालेपछि व्यवसायीहरु सक्रिय हुन थालेका छन् ।
जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्मका पर्यटन व्यवसायीले ठूलोे लगानीमा होटल तथा रिसोर्टहरु सञ्चालन गरिरहेका छन् ।
जसमध्ये टाइगर टप्स, थारु भिलेज, मच्यान, पार्क भ्यू, सिजी रिर्टेशलगायतका होटलहरु करोडाँैको लागतमा सञ्चालित छन् ।
आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षण बढ्दै गएपछि युवा व्यवसायीको होटलमा लगानी बढ्दै गएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका होटलमा बढी मात्रामा पर्यटकहरु भित्रिने गरेको व्यवसायीहरु बताउँछन् ।
त्यसैगरी देवचुली डाडाँ, मौलाकालिका मन्दिर , दाउन्ने मन्दिरलगायतका क्षेत्रहरु पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।
पर्यटकलाई आकर्षित गर्न प्याकेज नै बनाई जंगल सफारी, बोटिङलगायतका सुविधाहरु उपलब्ध गराउने गरेको व्यवसायी बताउँछन् ।
पूर्वमा गैँडाकोटदेखि पश्चिममा अमलटारीसम्म पर्यटकीय क्षेत्रको विकास तीव्र भइरहेकाले पर्यटन व्यवसायमा युवाहरु आकर्षित हुँदै गएकोे पर्यटन व्यवसायी संघ नवलपुरका पूर्वसचिव पलटप्रसाद चौधरीको भनाइ छ ।
अर्कोतिर विदेशीले पनि पर्यटन व्यवसायमा लगानी बढ्ने क्रम बढ्दै गएको छ । पर्यटन क्षेत्रबाट आर्थिक उन्नति हासिल गर्न राज्यले पनि थप प्रोत्साहित गर्नुपर्ने अपेक्षा व्यवसायीले गरेका छन् ।
बढी सम्भावना भएका क्षेत्रमा पर्यटक भित्र्याउन राज्यले प्रभावकारी पहलकदमी गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्