
-सुवर्ण श्रेष्ठ / ईमेज
मकवानपुर । हेटौँडामा अवस्थित हेटौँडा सामुदायिक अस्पताल आँखाको उपचारमा विश्वसनीय बन्दै गएको छ ।
मोतीबिन्दु, मासु पलाएको, चोट लागेकोलगायतका आँखाका समस्याको गुणस्तरीय शल्यक्रिया तथा उपचार सेवाका कारण आँखा उपचारका लागि भरोसाको केन्द्रको रुपमा विकसित भइरहेको हो ।
आँखाको उपचार गर्न काठमाडौँस्थित तिलगंगा आँखा अस्पताल आउनुपर्ने बाध्यतालाई मध्यनजर गरी हेटौँडामै आँखाको उपचार गर्न थालिएको हो ।
आफ्नो ठाउँमा नै आँखाको सफल शल्यक्रिया गर्न पाएको र अस्पतालको उपचार सेवा र रोगी प्रतिको व्यवहार पनि राम्रो भएको सेवाग्राहीको भनाइ छ ।
आँखाका रोगीको संख्या बढ्दै गएकाले तिलगंगा आँखा प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. सन्दुक रुइत समेतको पहलमा २०६५ सालमा हेटौंडा सामुदायिक आँखा अस्पतालको स्थापना गरी सेवारम्भ भएको थियो ।
अस्पतालमा दैनिक सरदर २०० जना आँखाका बिरामी आउने गरेका छन् । हप्ताको दुई दिन सोमबार र बिहीबार शल्यक्रिया गरिन्छ ।
मकवानपुर लगायत बारा, पर्सा, रौतहट तथा भारतको विहारबाट पनि उपचारको लागि आउने गरेको अस्पतालको भनाइ छ ।
अस्पतालका चिकित्सक डा. होमबहादुर गुरुङले मोतिबिन्दुलगायतका अन्य शल्यक्रियाको सेवा प्रदान हुनुका साथै जलबिन्दुको उपचार सेवा सुरु गरिएको जानकारी दिए ।
अस्पतालले स्थानीय संघ संस्थासँग सहकार्य गरी गाउँगाउँमा निशुल्क आँखा शिविरहरु सञ्चालन गरिरहेको छ भने हरेक दुई महिनामा तिलगंगा आँखा अस्पतालबाट विशेषज्ञ ल्याई विशेष आँखा परीक्षणको कार्य पनि गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्