१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


‘होमस्टे’लाई करको दायरामा ल्याउन माग


0
Shares

काठमाडौं, मंसिर १० । नेपालमा सन्चालित ‘होमस्टे’हरुलाई करको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

पर्यटन क्षेत्रको श्रमिक संगठन युनिट्राभले काठमाडौंमा गरेको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउन माग गरेका हुन् ।

‘वर्षेनि पर्यटकको आगमन बढ्ने तर पर्यटन क्षेत्रको आम्दानी घट्दोक्रममा देखिएको छ । होमस्टेलाई करको दायरामा ल्याउनसके वास्तविक आम्दानीको तथ्यांक राज्यसँग हुने’ उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)वापत् पर्यटकबाट उठाइएको रकम मनोमानी ढंगले खर्च गरिरहेको भन्दै पर्यटन बोर्डको दादागिरी अन्त्य गर्न पनि चेतावनी दिएका छन् ।

युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले टिम्सको रकम नदिने पर्यटन बोर्डमा भोटेताल्चा झुन्ड्याइदिने चेतावनी दिएका छन् ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै एअरपोर्टलाई अन्तर्राष्ट्रियस्तरबाटै कालोसूचीमा राख्न लगाएर बन्द गराउनेसम्मको स्थिति नआओस् भन्नेसम्मको उनको चेतावनी थियो ।