१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


सामाजिक सुरक्षा कोषमा एक वर्षको अवधिमा ११ हजार रोजगारदाता आबद्ध


0
Shares

काठमाडौं, मंसिर १० । सामाजिक सुरक्षा कोषमा एक वर्षको अवधिमा ११ हजार रोजगारदाता आबद्ध भएका छन् ।

गत वर्ष मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुआत गरेका थिए ।

सबै श्रमिकले पेन्सन पाउनसक्ने गरी यस योजनाको सुरुआत गरिएको थियो ।

प्रत्येक श्रमिकको योगदानमा आधारित मासिक पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत रकम थप गरी ३१ प्रतिशत रकम योगदानकर्ताको सामाजिक सुरक्षा कोष खातामा जम्मा हुनेगरी तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यो कार्यक्रमको सुरुआत गरेका थिए ।

श्रमिकको जीवनस्तरमा सुधार गर्ने दाबीसहित सुरुआत गरिएको यस योजनामा हाल ११ हजारभन्दा बढी रोजगारदाता कम्पनीहरु सहभागी हुँदा एक लाख १५ हजारभन्दा बढी श्रमिकहरु आबद्ध हुन पुगेको जनाइएको छ ।

कोषमा हालसम्म १७ करोड बढी रकम संकलन भइसकेको पनि कोषले जनाएको छ ।

सामाजिक सुरक्षा योजनामा कर्जाको कार्यक्रमसमेत अघि सारिएको छ । यस योजनामा सहभागी हुनेले तीन वर्षसम्म लगातार योगदान गरेपश्चात् धितोमा घरकर्जा, शैक्षिक कर्जा र सामाजिक कार्य कर्जा गरी एक करोडसम्म उपलब्ध गराइने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

एक वर्षसम्म पनि यस योजनामा लक्ष्यअनुसार प्रगति भने हुन सकेको छैन ।

योजनाबारे बुझाउन भने अझैपनि चुनौती नै रहेको निवर्तमान मन्त्री विष्टको भनाइ छ ।

यस योजनामा सहभागी हुन निवर्तमान श्रममन्त्री विष्टले विभिन्न प्रतिष्ठान तथा कम्पनीहरुलाई छलफलमा बसाइ योजनामा सहभागी हुन आग्रह गर्दै आउनुपरेको थियो ।

मन्त्री विष्टसँगकै छलफलपछि बैंकर्स संघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका संस्थाले योजनामा सहभागी भइ सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।