७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बानेश्वरमा चिकित्सकलाई ठक्कर दिने चालकविरुद्ध सवारी ऐनअन्तर्गत् मुद्दा


0
Shares

काठमाडौं, मंसिर १० । काठमाडौंको बानेश्वरमा आइतबार बिहान पैदलयात्राका क्रममा चिकित्सकलाई ठक्कर दिएको आरोप लागेका बसका चालकलाई सवारी ऐनअन्तर्गत् मुद्दा चलाइएको छ ।

उक्त दुर्घटनामा बा३ख ६१४ नम्बरको बसका चालक बुद्धकुमार कोँजुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले उनीविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी उक्त विषयमा अनुसन्धान थालिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वरस्थित सडकमा पैदलयात्राका क्रममा गाडीले ठक्कर दिँदा सुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत् डा. प्रभु जोशीको निधन भएको थियो ।

ठक्करपछि गाडीसहित फरार भएका चालकलाई रामेछापबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।

प्रहरीले ‘सीसीटीभी फुटेज’का आधारमा गाडीको पहिचान गरेको थियो ।

जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।

उक्त सवारीचालकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको जनाइएको छ । रासस