६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण घट्दै


0
Shares

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, मंसिर १० । सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यसहित २०७२ सालमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले ४९ जिल्लामा लागू छ ।

पाँचजनाको परिवारले वर्षको ३५ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार पाउने कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण भने घट्दै गएको छ ।

४९ जिल्लाका २४ लाख मानिस स्वास्थ्य बिमाको दायरामा आएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । जुन संख्या कुल जनसंख्याको ८ प्रतिशतमात्र हो ।

पाँचजनाको परिवारले वर्षको दुई हजार ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचार प्राप्त गर्ने व्यवस्थासहित २०७२ चैत महिनादेखि बिमा कार्यक्रम सुरु भएको थियो । हाल बिमा रकम र सेवा रकमसमेत बढाइएको छ ।

पाँचजनाको परिवारले तीन हजार ५०० रुपैयाँ तिरेर एक लाखसम्मको सेवा पाउने व्यवस्था गरिएको छ ।

यस्तै, पाँचजनाभन्दा बढी सदस्य रहेको परिवारले प्रतिव्यक्ति ७०० रुपैयाँ तिररे २० हजार रुपैयाँसम्मको सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

तर, बिमा सुरु भएको तीन वर्ष बितिसक्दा पनि त्यसप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । कुनैपनि प्रदेशमा बिमा गर्नेको संख्या २० प्रतिशतभन्दा माथि जान सकेको छैन ।

प्रदेश नम्बर–२ मा त २ प्रतिशतभन्दा कम व्यक्तिमात्र बिमाको दायरामा आएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए ।

आकस्मिक सेवा, ‘ओपीडी’ सेवा, औषधिलगायत सामान्य उपचारमात्र बिमाको माध्यमबाट गर्ने व्यवस्था छ । ठूला भनिएका रोगको उपचार बिमाले तोकेको छैन ।

यस्तै, बिमाले तोकेको सेवासमेत धेरै अस्पतालमा नभएका कारण स्वास्थ्य बिमाप्रति मानिसको आकर्षण बढ्न नसकेको बोर्डका निर्देशक पोखरेल बताउँछन् ।

बिमा गर्नेमध्ये ७० प्रतिशत व्यक्तिले मात्र नवीकरण गर्ने गरेको भन्दै निर्देशक पोखरेलले अझैपनि आफूहरु सुरुआती चरणमा नै रहेकाले ७७ जिल्ला समेट्न केही समय लाग्ने बताउँछन् ।

सरकारले यस वर्ष स्वास्थ्य बिमाका लागि ६ अर्ब रकम छुट्याएको छ । यस्तै, स्वास्थ्य बिमा गरेवापत् दुई अर्ब ५० करोड रकम उठेको छ । तर, उक्त रकम भने हाल कुनै प्रयोगमा आएको छैन ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने राम्रा योजनासहित कार्यक्रम आएपनि सर्वसाधारणको सक्रिय सहभागिता गराउन बोर्डले कुनै कार्यक्रम सन्चालन गर्न सकेको छैन ।

भिडियो हेर्नुहोस्