८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, चिकित्सक भन्छन्, केही दिन अस्पतालमै रहनुपर्छ


0
Shares

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उहाँको शल्यक्रिया गरिएको हो ।

राति पेट दुखेकाले उहाँलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । परीक्षणमा एपेन्डिसाइटिस भएको थाहा लागेपछि प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह र डा रमेश सिंह भण्डारीको टोलीले उहाँको शल्यक्रिया गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँलाई केही दिन अस्पतालमै राखिने डा.श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहाकार डा.अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको समस्याकै कारण पेटको संक्रमण देखिएको बताउनुभयो ।
शल्यक्रिया पछि प्रधानमन्त्रीलाई आइसीयू कक्षमा राखिएको र स्वास्थ्य अबस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस गरिसकेको छ ।

उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।