३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


हङकङमा आन्दोलन पक्षधरको अत्यधिक बहुमत


0
Shares

काठमाडौं । लामो समय चलेको आन्दोलनपछि हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा प्रजातन्त्र पक्षधरले विजयी हासिल गरेका छन् ।

आइतबार भएको जिल्ला परिषदको निर्वाचनमा अहिलेसम्म घोषणा भएका २४१ सिटमध्ये २०१ मा प्रजातन्त्र पक्षधर विजयी भएको बीबीसीले जनाएका छ ।

चीन समर्थित पार्टीले मात्रै २८ सिट जितेको छ । निर्वाचनमा २९ लाख भन्दा बढी मानिसले मतदान गर्दा ७१ प्रतिशत मत खसेको छ ।

सन् २०१५ मा भएको निर्वाचनमा ४७ प्रतिशत मात्र मत खसेको थियो । प्रजातन्त्र समर्थकहरुको पाँच महिना लामो सरकार विरोधी प्रदर्शनपछि मतदान भएको हो ।

प्रजातन्त्र पक्षधरहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला भएको निर्वाचनको मत परिणामले चीन सरकारलाई पनि सन्देश दिने अनुमान गरिएको छ ।

हङकङको जिल्ला परिषद्मा ४ सय ५२ पार्षद्हरू चुनिनेछन् । हङकङको चुनाव प्रणाली बमोजिम १ सय १७ जिल्ला पार्षद्हरू १२ सय सदस्यीय समितिको सदस्य बन्नेछन् जसले प्रमुख कार्यकारी चयन गर्नेछ । प्रजातन्त्रवादीहरुले परिषदमा आफ्नो प्रतिनिधित्व बढाउने अपेक्षा गरेका छन् ।

परिषदले प्रमुख कार्यकारी चयनमा परम्परागत रुपमा नै प्रभाव राख्दै आएको छ । एजेन्सी