भानुभक्त आचार्यलाई भैरव अर्यालको व्यङ्ग्य चिठ्ठी « Image Khabar


भानुभक्त आचार्यलाई भैरव अर्यालको व्यङ्ग्य चिठ्ठी


Imagekhabar
२९ असार २०७८, मंगलवार ११:२८

काठमाडौं । भानुभक्त आचार्यलाई भैरव अर्यालले लेख्नुभएको व्यंग्य चिठ्ठी निकै चर्चित छ । अर्यालले आचार्यलाई लेख्नुभएको उक्त चिठ्ठी आज २०८ औं भानुजयन्तीको अवसरमा हामीले यहाँ प्रकाशन गरेका छौं । उक्त चिठ्ठी हामीले पत्रकार निर्मल अर्यालको फेसबुकबाट साभार गरेका हौं ।

यस्तो छ चिठ्ठी

श्री भानुभक्त आचार्य

नेपाली टोल,मृतात्मा एभेन्यु

अलकापुरी १८७१—१९२६ स्वर्ग

श्रद्धेय कविबाजे,

उप्रान्त त्यहाँ बाजेलाई आरामै होला । बाँच्नुका दुःखले हाल तपाईलाई पिरोलेका नहोलान् भन्ने आशा राखेको छु । तपाईसँग धेरै कुरा गर्नु थियो, धेरै सल्लाह माग्नु थियो, धेरै अर्ती लिनु थियो, तर तपाईले मेरा बाजे पनि नजन्मँदै यो दुःखसार तरिसक्नुभएछ । रामगीता लेखेबापत स्वर्गै पुग्नुभयो होला र अलकापुरी खूब मन पर्ने हुनाले सोही शहरमा डेरा लिनुभयो होला………………….तपाईका आर्शीवादले मलाई यहाँ सन्चै छ ।

म अचेल तपाईको उही अलकापुरी कान्तिपुरीका नालभरी गल्लीमा मान्छे, कुकुर, कुखुरा, सुँगुर, हाँस, साँढे सबैको संयुक्त विष्ठा—मूत्रको अभिसिञ्चित षडसुवास सुँघ्दै बाँचिरहेछु । मान पाउँला कि भनी एक मन लगाई चाकरी गर्दा भुक्तमान पाइने तपाईको पालाको प्रवृत्ति अहिलेसम्म झण्डै उस्तै छ …………………अचेल कान्तिपुरको आर्थिक स्थिति अत्यन्त कमजोर छ बाजे, झूल किन्यो तन्ना किन्न सकिन्न, तन्ना किन्यो तकियाको खोल हाल्न सकिन्न । त्यसैले लामखुट्टे र उपिँयाका नाचगान बिनाटिकट बर्खाभरी कोठैमा देखिन्छ …………….थाङनो गुन्द्रीबाट बुद्रुक्क उफ्रेका उडुसहरू बडेबेड कुर्सीमा विराजमान हुन पुग्छन्, खाल्टाबाट उम्केका लामखुट्टेहरू हङकङ र बेलायत हुँदै केही दिनमै जगरसेठ भैसक्छन् …………….

तपाई धेरै वर्ष बाँचेको भए नेपाली समाजका धेरै अमिल्दा पक्षहरूमा व्यङ्ग्यवाण चलाइदिन सक्नुहुन्थ्यो । सके यस्तै खस्रा कुरा गर्ने बानीले तपाईले जिन्दगीमा धेरै भुक्तमान खेप्नुपरयो ……..तपाईले लगाइदिएको हास्यव्यङ्ग्यको बाटो क्रमशः अलि फराकिलो हुँदै गएको छ भन्ने समाचार मात्र तपाईलाई सुनाउनु पाएकोमा पनि मलाई आज तीन मुरी भात खाएजस्तै खुशी लागेको छ । धेरै गन्थन गरियो, अब म पनि उही लामखुट्टे, उपियाँको सांस्कृतिक कार्यक्रम हेर्न कोठानामक दुलाभित्र पस्छु, नमरुञ्जेल बाजेको बिर्के टोपी र छड्के पछ्यौरा सहितको एउटा काल्पनिक अनुहार सम्झेर बस्छु ।

तपाईको उही नाति

भैरव अर्याल

(साभार–दश औतार, प्रसङ्ग असार २९—भानु जयन्ती)

प्रतिक्रिया दिनुहोस्