३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


अमेरिकी विदेशसचिव र राष्ट्रपतिका कानुनी सल्लाहकार नै राजदुत मेरीलाई हटाउन सक्रिय


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकार रुडी जियुलियानी र विदेश सचिव माइक पोम्पेओबीच युक्रेनका लागि अमेरिकी राजदुत मेरी योभानोविचलाई फिर्ता बोलाउने बारे छलफल भएको तथ्य सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

हालै विदेश विभागबाट प्राप्त भएको भनिएको एक सय पृष्ठ लामो प्रतिवेदनमा जियुलियानी र पोम्पेओबीच युक्रेन मामिलाका विषयमा छलफल भएको बताइएको छ ।

संघीय सूचना स्वतन्त्रता ऐनमार्फत माग गरिएको भनिएको सूचनामा दुई व्यक्तिले गत मार्च २६ र २९ मा युक्रेन मामिलामा छलफल गरेको बताइएको छ ।

उक्त छलफल भएको एक महिना नबित्दै राष्ट्रपति ट्रम्पले राजदुत मेरीलाई फिर्ता बोलाएका हुन् ।

अमेरिकी सूचना दुतका निर्देशक अस्टिन एभर्सले एक विज्ञप्ती जारी गर्दै नयाँ सूचनाले राजदुत मेरीलाई फिर्ता बोलाउने विषयमा पटक पटक छलफल भएको पुष्टि भएको बताए ।

युक्रेन प्रकरणलाई लिएर अमेरिकी तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा विभिन्न पक्षसँग छलफल एवं सार्वजनिक सुनुवाइ गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पमाथि आफ्ना चुनावी प्रतिष्पर्धीमाथि छानविन गर्न युक्रेनमाथि दवाव दिएको आरोप लागेको छ । तर ट्रम्पले आरोपको खण्डन गर्दै आउनुभएको छ । एजेन्सी