
-कविराज घिमिरे/ईमेज
धनकुटा । तनावपूर्ण र व्यस्त जीवनशैलीबाट केही समय मुक्त हुन पछिल्लो समय डाँडाकाँडामा हाइकिङ्ग गर्ने चलन बढ्दो छ ।
स्वस्थ्य जीवनका लागि पनि पूर्वी नेपालका पहाडी क्षेत्रका डाँडाकाँडामा समेत हाइकिङ्ग क्रेज बढ्दै गएको हो ।
धनकुटाको छथरजोरपाटी गाँउपालिका– ६ सिधुवा बजारका स्थानीय पछिल्लो समय हाइकिङ्ग गर्दै पटेक डाँडासम्म पुग्ने गरेका छन् ।
करिब ५ किलोमिटरको उकालो वरपरको रमणीय वातावरण अवलोकन गर्दै दुई घण्टा लगाएर पार गर्ने गरेका छन् ।
हाइकिङ्ग गर्न उत्साहित गर्ने उद्देश्यले गाँउपालिकाको प्रस्तावमा पर्यटन मन्त्रालयले हलहलेमा करिब तीन सय मिटर लामो रेलिङ्ग सहितको सिढी समेत निर्माण गरिदिएको छ ।
सोही कारण पनि सिधुवा हलहले पटेक डाँडा टे«लमा हाइकिङ्ग गर्नेहरुको आकर्षण बढेको हो ।
हाइकिङ्ग गदै सिदुवा बजारबाट मार्गा पोखरीसम्म समेत पुग्ने गरेका छन् । समय मिलाएर दुई/दुई दिनमा हाइकिङ्ग गर्ने गरेको स्थानिय बिमला श्रेष्ठको भनाइ छ ।
धनकुटाको सिधुवामा मात्र हैन हिले, धनकुटा सदरमुकामलगायत बिभिन्न स्थानमा हाइकिङ्ग गर्ने क्रम बढ्दो छ ।
धरानवाट साँगुरीगढी हुदै भेडेटार सम्मको करिब दश किलोमिटरको हाइकिङ्ग त प्रायः नियमित हुने गरेको छ ।
फुर्सद मिलाएर तराईवाट समेत हाइकिङ्ग गर्नको लागि हाइकर्सहरु मध्यपहाडसम्म आउने गरेका छन् ।
स्वास्थ्यलाई फाइदा हुनुको साथै मनोरम दृष्यको अबलोकन गर्न पाइने भएकाले हाइकिङ्ग गर्ने गरेको अर्का स्थानिय दिवस खड्का बताउँछन् ।
स्वास्थ्यका दृष्टिले पनि हाइकिङलाई निकै राम्रो मानिन्छ । शरीर तन्दुरुस्त हुने भएकाले साताको एक दिन हाइकिङ गर्न डाक्टरहरुले पनि सुझाउने गरेका छन् ।
हाइकिङ गर्दा नयाँ ठाउँ, वनस्पति र जीवजन्तु अवलोकनसँगै जीवनशैलीबारे नजिकबाट बुझ्न सकिने भएकाले पनि यो प्रतिको आकर्षण बढ्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस्