२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यी हुन् वर्तमान श्रममन्त्रीका चुनौती


0
Shares

काठमाडौं, मंसिर ६ । मंसिर ५ गते मन्त्रिमन्डल पुर्नगठन भयो र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीकारुपमा रामेश्वर राय यादव नियुक्त भए ।

निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार, श्रम र सामाजिक सुरक्षा क्षेत्रमा सुरु गरेका सुधारका कामहरुलाई निरन्तरता दिनु र सफल बनाउनु वर्तमान श्रममन्त्री यादवलाई चुनौती नै रहनेछ ।

विष्टले विभिन्न मुलुकहरुसँग श्रम सम्झौता गरेका थिए भन्ने अन्यसँग पनि श्रम सम्झौताको तयारी गर्दै आएका थिए ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना पनि उनैको सक्रियतामा सुरु भएको थियो ।

तुलनात्मकरुपमा राम्रा गरेका मन्त्रीलाई कामले गति नै लिन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हटाए ।

‘मन्त्री विष्टलाई के आधारमा हटाइयो ?’ भनेर सामाजिक सञ्जाललगायतमा पनि असन्तुष्टि व्यक्त भइरहेको छ ।

श्रम तथा वैदेशिक रोजगारको क्षेत्रमा वर्षौंदेखि थुप्रै बेथिति र समस्या रहँदै आएका छन् । विष्टले यसका लागि सरकार सरकारबीच सम्झौता गरेर सुधारका प्रयास सुरु गरेका थिए । यी सम्झौता कार्यान्वयन गर्न पनि मन्त्री यादवको चुनौती रहेको छ ।

यस क्षेत्रमा सुधारका प्रयास गरेकाले नै विष्ट व्यापारीहरुको तारो बन्दै आएको र यसैका कारण उनलाई हटाइएकोसमेत अनुमान गरिएको छ । व्यवसायीहरुका पछिल्ला अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ ।

मन्त्री यादवले यसलाई चिरेर सुधार जारी राख्नु चुनौतीपूर्ण नहोला भन्न सकिन्न ।

पदबहाली गर्नेक्रममा नवनियुक्त मन्त्री यादवले वैदेशिक रोजगारीमा भ्रष्टाचारको शून्य सहनशीलता नीति अवलम्बन गर्ने प्रतिबद्धता भने व्यक्त गरेका छन् ।

निवर्तमान मन्त्री विष्टले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अझैसम्म पनि गति लिन सकेको छैन ।

यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामा पनि पटक–पटक प्रश्न उठिरहेकै छ । यस कार्यक्रलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि मन्त्री यादवको काँधमा आएको छ ।