७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


महराको मुद्दामा उच्च अदालतले माग्यो जिल्लाको आदेशको प्रतिवेदन


0
Shares

काठमाडौं, मंसिर ६ । उच्च अदालत पाटनले जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा प्रतिवेदन माग्ने आदेश गरेको छ ।

शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेदीसहितको इजलासले ‘कैफियत’ प्रतिवेदन माग्ने आदेश गरेको हो ।

महराका तर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिँदा लिएका आधार, कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।

यो आदेशबमोजिम जिल्लाबाट प्रतिवेदन आएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश मिलेको छ वा छैन भन्नेबारे सुनुवाइ सुरु हुनेछ ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा गएको कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएकाले साधारण तारेखमा रिहा हुनपर्ने महराको तर्क छ ।

जिल्ला अदालतको आदेश बदर हुने वा नहुने निर्णय भने दोस्रो सुनुवाइमा आउँदो आइतबार हुने जनाइएको छ ।

महरा हाल डिल्लीबजार कारागारमा छन् ।