४१ दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण, चोरको रोजाइमा पल्सर र होण्डाका मोटरसाइकल « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


४१ दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण, चोरको रोजाइमा पल्सर र होण्डाका मोटरसाइकल


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका ३३ मोटरसाइकल र ८ स्कुटर मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

पछिल्लो समय चोरी भएर नियन्त्रणमा लिइएका अधिकांश मोटरसाइकल बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको महाशाखाले जनाएको छ । सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने किसिमका मोटरसाइकल र स्कुटर चोरी गर्ने समूहको माथिल्लो सूचीमा पर्ने गरेको छ ।

युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको भनाइ छ । हराएको सवारी साधन फेला परेपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै महाशाखालाई धन्यवाद दिएका छन् ।

महाशाखाले चालु आर्थिक वर्षमा मात्रै हराएका ४ सय १३ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।