Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नेचासल्यान गाउँपालिकाले ४१ उद्यमीलाई सम्मान गर्‍यो


0
Shares

सोलुखुम्बु, असार १८ गते । नेचासल्यान गाउँपालिकाले सक्रिय उद्यमीलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
व्यवसायिक रुपमा लागेका विभिन्न उद्यमीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उत्साहित भएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सक्रिय ४१ उद्यमीलाई प्रोत्साहन रकमसहित सम्मान गरेपनि व्यवसायी खुशी भएका हुन् ।

गाउँपालिकाभित्रका दुई उद्योग सञ्चालकलाई ५० हजार रुपैयाँ, पाँच बङ्गुर फर्म सञ्चालकलाई ३० हजार रुपैयाँ, १८ बाख्रा फर्म सञ्चालकलाई ३० हजार रुपैयाँ, १० तरकारी फलफूल फर्म सञ्चालकलाई ३० हजार रुपैयाँका दरले गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलले प्रोत्सहान रकम र प्रमाण पत्र सहित सम्मान गर्नुभएको हो ।

त्यस्तै, २५ हजार रुपैयाँका दरले चार कुखुरा फार्म सञ्चालक र २० हजारका दरले दुई भैसी फार्म सञ्चालकलाई प्रोत्साहन रकम वितरण गरिएको हो । कामको मुल्याङ्कनका आधारमा प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिका अध्यक्ष बास्तोलाले बताउनुभयो ।

युवालाई स्वरोजगारमुखी बन्न आग्रह गर्दै आगामी दिनमा पनि पालिकाकोतर्फबाट सहयोग गर्ने र झोलाबाट सञ्चालन गरिने फर्मलाई खारेज गरिने उहाँको भनाइ छ ।

नेचासल्यान गाउँपालिका कृषि तथा पशु शाखाको आयोजनामा भएको कार्यक्रममा सम्मानित भएपछि कृषकहरुले खुशी व्यक्त गरेका छन् ।

यस्तो सम्मानले कृषकहरुलाई थप हौसला मिल्ने स्थानीय कृषक लाक्पा शेर्पाले बताउनुभयो ।