Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न मन्त्री पौडेलकाे निर्देशन


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिनुभएको छ । साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा शुक्रबार बसेको विपद्सम्बन्धी बैठकमा मन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिनु भएको हो । उहाँले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभयो ।

मन्त्री पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो । राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा जोड दिँदै उहाँले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गर्नु भयो ।

मन्त्री पौडेलले क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिँदै अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिनुभयो । उहाँले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाईँ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी हुनुहुन्थ्यो ।

Skip This