
विराटनगर । सरकारले यो वर्ष हुलाकी राजमार्ग निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने भएको छ ।
हुलाकी राजमार्ग निर्माणका लागि यो वर्ष ५ अर्ब रुपैयाँ निकासा गरेको सरकारले विभिन्न स्थानबाट राजमार्ग निर्माणको काम शुरु गर्न लागेको हो ।
तराईका जिल्ला जोड्ने ‘लाइफ लाइन’ सडकका रुपमा यो सडकलाई परिभाषित गरिएको छ ।
हुलाकी राजमार्ग निर्माण शुरु भएको १३ बर्ष बिते पनि पूर्वपश्चिम जोड्ने काम अधुरै छ ।
हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार मुलुकका चार स्थानमा रहेका कार्यालयअन्तर्गत काम गर्न सरकारले यस वर्षका लागि छुट्याइएको रकम खर्च गरिने छ ।
आयोजना प्रमुख विजयकुमार महतोले इटहरी, जनकपुर, नेपालगन्ज र धनगढी कार्यालयमार्फत हुलाकी राजमार्ग निर्माणको काम हुने बताए ।
हुलाकी राजमार्गलाई मधेसका जिल्ला जोड्ने पहुँचमार्गका रुपमा समेत चिनिन्छ । यो राजमार्ग पूर्व–पश्चिम ९ सय ७५ किलोमिटर लामो छ ।
राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किलोमिटरका ३२ वटा सहायक राजमार्ग छन् ।
कूल १ हजार ७ सय ९२ किलोमिटर लामो राजमार्ग र सो अन्तर्गत पर्ने सडकमध्ये हालसम्म ६७ किलोमिटर मात्र कालोपत्रे भएको छ ।
प्रतिक्रिया दिनुहोस्