Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


धान रोप्न भ्याइ नभ्याइ हुनुपर्ने बेला फुर्सदमा नवलपरासीका किसान


0
Shares

हरि शर्मा
पश्चिम वलपरासी । असार महिनामा कृषकहरुलाई धान रोप्न भ्याइ नभ्याइ हुनु पर्ने हो । तर, यस वर्ष समयमै वर्षा भएकाले नवलपरासीका कृषकहरु भने समयअघि नै धान रोपाइँ सकेका कारण फुर्सदिला बनेका छन् ।

बर्षेनी आकाशे पानीको भरमा रोपाइँ हुने पश्चिम नवलपरासीका किसानहरुलाई यो बर्ष भने सहज भएको छ । समयमा पानी परेको र सहजै मलखाद पाइएकाले किसानहरुले जेठको अन्तिम साताबाटै रोपाई गर्न थालेका थिए ।

जसका कारण रोपाइँ सकेर अहिले यहाँका किसानहरु फुर्सदिला बनेका हुन् । रोपाइँ सकेर फुर्सदिला बनेका किसानहरु खेतमा जमेको पानी व्यवस्थापन गर्न र अन्य तरकारी खेतीमा लाग्न थालेका छन् ।

किसाहरुले समयमा धान रोप्न पाएकाले यसवर्ष जिल्लाको उत्पादनमा १५ प्रतिशतले वृद्धि हुने अपेक्षा लिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिलेसम्म करिब ९० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख देवेश मिश्रले बताउनुभयो ।

कुनै बेला खडेरीको मारमा पर्ने गरेका यहाँका किसानहरुले यस बर्ष मनग्य बर्षात भएपछि समयमै रोपाइँ सकेर फूर्सदिला बनेका हुन् । दश प्रतिशत किसानले भने ढिलो गरी बिउ राखेका कारण अहिले पनि रोपाई गर्दै आएका छन् ।

अबको एक साताभित्र बाँकी रोपाई पनि सकिने ज्ञान केन्द्रले जनाएको छ । समयमा रोपाई सकेका किसानले भने अबको दुई सातामा गोडमेल गर्न थाल्नेछन् । तर, गोडमेल गर्ने समयमा भने मल नपाइने होकी भन्ने चिन्ता किसानलाई छ ।

धान रोपेको २२ देखि २४ दिनभित्र गोडमेल गर्ने गरिन्छ । विगतका वर्षमा धान रोप्ने र रोपिसकेपछि आवश्यक पर्ने मलखाद नपाउँदा समस्यामा पर्ने गरेका यहाँका किसानलाई यो बर्ष पनि त्यस्तै समस्या हुने त हैन भन्ने चिन्ता बढ्न थालेको छ ।

जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । वर्षेधान मात्र हुँदै आएको पश्चिम नवलपरासीमा नमूनाको रुपमा चैते धान लगाउने सोच किसानहरुको छ ।

तसर्थ धान उत्पादनका लागि क्षेत्र विस्तारभन्दा पनि प्रविधि विस्तारसहित किसानहरुलाई समयमा मलखाद र बिउ बिजन उपलब्धका लागि सरकारले ध्यान दिए किसानहरु खुशी हुने थिए ।