
काठमाडौं, मंसिर २ । झापाको मेचीनगर नगरपालिका–१४ मा रहेको साकम्बरी प्रोडक्टका सन्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोड बढीको राजश्व छली गरेको पाइएको छ ।
अनुसन्धानमा उक्त कम्पनीका सन्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत ६ जनाको मिलेमतोमा रु ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाइ कानुन बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाइ बिक्री–वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
उक्त घटनामा साकम्बरी प्रोडक्टका सन्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सन्चालक सीताराम शर्मा तथा सवारीधनी आशिष शर्मा र विष्णुप्रसाद खरेलकोसमेत मिलेमतो रहेको देखिएकाले उनीहरुविरुद्ध मुद्दा चलाइएको उनले जानकारी दिए ।
यही मंसिर १ गते बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग–दाबीसहित उनीहरुविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले सोमबार एक विज्ञप्तिमार्फत् जनाएको छ ।
नक्कली बीजक प्रयोग गरी राजश्व छली
मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली बीजकको प्रयोग गरी राजश्व छल्ने तीनजनाविरुद्ध राजश्व अनुसन्धान विभागले अर्काे मुद्दा चलाएको छ ।
उनीहरुले रु एक करोड ७४ लाख २१ हजार बिगो बराबरको राजश्व छलेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग–दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले सोमबार एक सूचना जारी गरी जनाएको छ ।
गोरखा, हङसपुर घर भइ काठमाडौँ महानगरपालिका वडा नम्बर–३२ बस्ने अम्बेल इन्टरप्राइजेजका सन्चालक विनिता दुवाडीले रु एक करोड २९ लाख, काठमाडौंकै सुसज्जित इन्टरप्राइजेजका सन्चालक सरस्वती गौतम र श्रीमान् रामशरणले रु ४५ लाख ४५ हजार बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।
उनीहरुलाई बिगो बराबरको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्