
काठमाडौं । मिर्गौला पीडितहरुले आफुहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।
मृगौला पीडित सरोकार समाजको नेतृत्वमा आज बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलाइसिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् ।
१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयं मिर्गौला पीडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिए ।
आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौति गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश समेत पोखेका थिए ।
पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिस, बिरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गरेका छन् ।
प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरमण्डला पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्