कृषिमा यान्त्रिकीकरणमा जोड दिँदै भरतपुर महानगरपालिका « Image Khabar


कृषिमा यान्त्रिकीकरणमा जोड दिँदै भरतपुर महानगरपालिका


Border circle
Imagekhabar

डोलराज रानाभाट
चितवन । स्थानीय सरकारले कृषि उत्पादन बढाउन कृषकहरूलाई दिने अनुदानको रकम बढाउन थालेका छन् । सरकार सञ्चालन ऐनमा पनि कृषि उत्पादन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ । सोही अनुरूप भतरपुर महानगरपालिकाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन कृषकलाई अनुदान दिँदै कृषिमा यान्त्रिकीकरणमा जोड दिएको छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न महानगरले कृषकलाई अनुदानमा मेसिन वितरण गरेको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।

चालु आर्थिक वर्षमा मात्रै यान्त्रिकीकरणमा जोडिन महागरभित्रका ४३ वटा साना किसान, कृषि सहकारी तथा किसानहरूको समूहले आवेदन दिएका थिए । तीमध्ये १३ वटा छनोटमा परेको महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन महाशाखाका वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्र प्रसाद पौडेल बताउनुहुन्छ ।

महानगरले ५० प्रतिशत अनुदानमा एउटा फर्मलाई धान रोप्ने मेसिन, ६ वटा सहकारी तथा फर्मलाई ५० हर्ज क्षमताको ट्याक्टर, एक जनालाई हाते ट्याक्टर वितरण गरिसकेको छ । प्रति ट्याक्टर १६ लाख ५२ हजार र धान रोप्ने मेसिनको कुल २२ लाख ५० हजारको लागतमा महानगरले ५० प्रतिशत अनुदान दिएको हो ।

अब चारवटा बिउ प्रशोधन मेसिन र एउटा इलेक्ट्रिक ड्रायर मेसिन हस्तान्तरण गर्न बाँकी रहेको विज्ञ पौडेल बताउनुहुन्छ । स्वदेशी हाइब्रिड बिउ उत्पादन गर्दै आउनुभएका विमल एग्रो फार्म एण्ड रिसर्च सेन्टरका प्रमुख तीर्थ सुवेदीले ट्याक्टरलाई बहुउपयोग गर्न सकिने उल्लेख गर्दै महानगरले कृषकको मेहनतमा थप इँट्टा थपेको बताउनुहुन्छ ।

कृषकहरूलाई थप उत्साह दिन यान्त्रीकरण, सिँचाइ उन्नत बिउविजनका कार्यक्रममा महानगरले अनुदान दिँदै आएको छ भने आगामी आर्थिक वर्षबाट दुधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिन बजेट छुट्याएको छ । विदेशबाट फर्किएका युवाहरूलाई समेत व्यावसायिक खेतीमा प्रेरित गर्न अनुदानका कार्यक्रम ल्याएको महानगरकी उप–प्रमुख पार्वती शाह ठकुरी बताउनुहनुहुन्छ ।

भरतपुर महानगरपालिकामा १ सय ३९ दशमलव ४० वर्ग किलोमिटर खेतीयोग्य जमिन छ । तर, पछिल्लो समय मानवीय जनशक्तिको अभाव, बजारीकरणमा समस्या, मलबिउ पाउन कठिन हुँदा कृषकहरू पेशाबाटै पलायन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्