८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


स्यानेटरी प्याड बनाउन जानेपछि छुटेन स्कुल


0
Shares

-डीबी विष्ट/ईमेज 

बझाङ । सेनेटरी प्याडको सहज तरिकाले उपलब्ध नहुनु र महँगो भएकाले महिनावारीको बेला दुर्गम भेगका अधिकांश किशोरीहरु विद्यालय जाँदैनन् ।

तर घरमै सेनेटरी प्याड बनाउन जान्ने भएपछि भने बभाङका कतिपय किशोरीहरु यो समस्याबाट मुक्त भएका छन् ।

बजारमा पाइने सेनेटरी प्याड महंगो हुनु र जहाँतहीँ उपलब्ध नहुँदा बझाङलगायतका दुर्गम जिल्लाका अधिकांश किशोरीहरु महिनावारीको समयमा विद्यालय जान मान्दैनथे ।

तर सेनेटरी प्याड आफैैँले बनाउन जानेपछि भने धेरै सहज भएको छ । आफैँले बनाएको प्याड पुनः प्रयोग गर्न मिल्ने र स्वास्थ्यमा पनि राम्रो प्रभाव पारेको बझाङको बिथ्थड चिर गाउँपालिकाकी कल्पना ढाँट बताउँछिन् ।

युएनएपीएको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले जिल्लाका किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालीम प्रदान गरेको हो ।

कुन कपडाको प्याड बनाउने, कसरी प्रयोग गर्ने लगायतका विषयमा सिकेका कुराहरु किशोरी समूहमा आबद्ध रहेकालाई पनि सिकाउने जयपृथ्वी नगरपालिका १० की सानीमाया रसाइलीको भनाइ छ ।

तालिमका क्रममा कतिपय किशोरीहरुलाई प्याडका बारेमा जानकारी नै नभएको भेटिएको सेनेटरी प्याड बनाउने तालिम दिएकी शिक्षा विकास तथा समन्वय ईकाइका लेखाजोखा संयोजक देबकी मल्लको भनाइ छ ।

बाल विवाह अन्त्य कार्यक्रमअन्तर्गत जिल्लाका ४८ वटा किशोरी समुहका किशोरीहरुलाई उक्त तालिम दिइएको थियो ।

 महिनावारीकै कारण किशोरीहरुले बीचमै पढाइ छाड्ने गरेको पनि भेटिएको छ । साथीभाइले पनि जिस्काउने र आफूलाई पनि लाज लाग्ने भन्दै सो समयमा स्कूल छाड्ने गरेका छन् ।