२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


हरैयामा बस्दै आएका सुकुम्वासीको व्यवस्थापन, गुजारा चलाउन भने समस्या


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको हरैयाका सुकुम्वासीलाई व्यवस्थापन गरिएको छ ।

जग्गा कब्जा गरी बसोवास गरिरहेका उनीहरुलाई धनगढी उपमहानगरपालिकामा सारिएको हो । तर उनीहरुले भने आधारभूत आवश्यकतामै पिरोलिनुपरेको गुनासो गरेका छन् ।

तत्कालीन विद्रोही माओवादीले २०६१ सालमा कैलालीको गोदावरी नगरपालिकाको  हरैयामा सुकुम्बासीहरुलाई बसाएको थियो ।

हरैयाको जग्गा कब्जा गरी त्यहीँ बसोवास गर्दै आएका उनीहरुलाई अहिले धनगढी उपमहानगरपालिकाको धुरझन्नामा सारिएको छ ।

हरैयामा सौभाग्य रियल स्टेट एन्ड हाउजिङ् प्रालि पोखराले जग्गा खरिद गरेका कारण उनीहरुलाई धुरझन्नामा सारिएको हो ।

धुरझन्नामा पनि सोही प्रालिले नै ५९ कट्ठा जग्गा खरिद गरिदिएको छ ।

अहिलेसम्म धुरझन्नामा ९१ परिवार आइसकेका छन् । अझै पनि ४८ परिवार सुकुम्बासी हरैयामा नै बसिरहेको जनाइएको छ ।

प्रतिपरिवार १ कठ्ठा जग्गा उपलब्ध गराइदिने भनेर नै आफूहरु यहाँ बसाइ सरेको हिरा वादीको भनाइ छ ।

उनीहरु बसाइ सरेर त आए तर पूर्वाधारबिनाको ठाउँमा आएर वस्नुपर्दा दैनिक गुजारा चलाउन समेत हम्मेहम्मे भएको उनीहरुले गुनासो पोख्न थालेका छन् ।

साउने झरी त्यसमाथि त्रिपालको बास उनीहरुलाई साँच्चिकै असहज भइरहेको छ ।

पहिलेको ठाउँमा बस्न र खानको लागि खासै समस्या नभएको र कतै मजदूरी गरी गुजारा चलेको तर यहाँ आएपछि समस्या भएको सुनिता ताम्रकारको गुनासो छ ।

उसो त सुकुम्बासीका लागि शंकर कार्कीले त्रिपाल र बासका साथै २ ओटा हाते धारा र ६ ओटा कच्ची चर्पी बनाउन सहयोग गरेका छन् ।

साथै खानाको लागि चामल पनि उपलब्ध गराइएको छ । नेताहरुले स्थायी व्यवस्थापन हुन्छ भन्ने आशामा ठाउँ सरेको राजेश्वरी रोकाय बताउँछिन् ।

सुकुम्वासीको उचित व्यवस्थापनका लागि ठाउँ सार्नु राम्रै भएपनि उनीहरुलाई गास बास र कपासजस्ता न्यूनतम आवश्यकताबाट पिरोलिनुपर्ने अवस्थाबाट मुक्त गर्न सबैको पहल आवश्यक छ ।