७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


‘चन्द समूहले’ लुकाएर राखेको अत्याधुनिक हतियार बरामद


0
Shares

विवेक खड्का (इमेज)

दाङ, कात्तिक ३० । दाङ प्रहरीले ‘नेत्रविक्रम चन्द नेतृत्वको समूहले’ लुकाएर राखेको अत्याधुनिक हतियार बरामद गरेको छ ।

प्रहरीले पाँचथान ‘एसएमजी’ राइफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दा शुक्रबार साँझ कपिलवस्तु जिल्लाको शिवनगर नगरपालिका–१ स्थित खाली गोठहरुबाट ती हतियार बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी ती हतियार सार्वजनिकसमेत गरेको छ ।

ती हतियारहरु स्थानान्तरण गर्नका लागि सुटकेटसमा राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पात–पतिंगर तथा झारपातले छोपेर लुकाइराखेको अवस्थामा हातहतियार फेलापरेको उनले बताए ।

सरकारबाट प्रतिबन्धित सो समूहले ती हतियार कुन प्रयोजनका लागि कहाँ लैजाँदै थियो भन्नेबारेमा थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चुनावी कार्यक्रमलाई प्रभावित पार्न हतियार स्थानान्तरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

गएको असोज ३० गते प्रहरीले दाङको गढवा गाउँपालिकाको सीमानाका क्षेत्रबाट चन्दका दाजु ‘वीरजंग’सहित राप्ती ब्यूरोका २१ नेता–कार्यकर्ता पक्राउ गरेको थियो ।

त्यसको ठीक एक महिनापछि प्रहरीले यी हतियारहरु बरामद गरेको हो ।