
सर्लाही । जनप्रतिनिधिबीचको विवादले भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा नगरपालिकामा स्वास्थ्य क्षेत्रसमेत प्रभावित भएको छ ।
नगरप्रमुख र वडाध्यक्षले आ–आफ्नो किसिमले स्वास्थ्य संस्था सञ्चालन गर्न खोज्दा स्वास्थ्यकर्मी पनि अन्यौलमा परेका छन् । फरक–फरक पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षबीचको विवादले बलरा नगरपालिकाको कार्यालयमा पटक–पटक तालाबन्दी हुँदै आएको छ ।
जनप्रतिनिधिबीच बढ्दो विवाद पछिल्लो समय स्वास्थ्य क्षेत्रमा समेत पर्न थालेको हो । विवादका कारण नगरपालिकाबाट बेलैमा औषधि खरिद नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
सामान्य बिरामी पर्दासमेत स्थानीय बासिन्दा सदरमुकाम मलंगवा वा सीमापारी भारतीय बजारमा जानुपर्ने बाध्यता छ । विवादकै कारण पछिल्लो समय स्वास्थ्य चौकीको एम्बुलेन्ससमेत सहज रुपमा प्रयोग गर्न नपाएको बलराका स्थानीय बताउँछन् ।
बलरा नगरपालिका मातहतका विभिन्न स्वास्थ्य चौकीको एम्बुलेन्स नगरपालिका कार्यालयमा राखिएको छ । बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले गलत प्रयोजनमा प्रयोग हुन थालेपछि सबै एम्बुलेन्स नगरपालिका कार्यालयमा राखिएको जानकारी दिए ।
उनले नगरपालिकामा राखेपनि नगरवासीले फोन गर्ने बित्तिकै एम्बुलेन्स पठाउने गरेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्