बालबालिकालाई बोझिलो बन्दै अनलाइन शिक्षण « Image Khabar


बालबालिकालाई बोझिलो बन्दै अनलाइन शिक्षण


Imagekhabar
७ असार २०७८, सोमबार ०८:३२

राजधानीको त्रिनिटी कलेजमा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पढ्दै गरेकी मेलम्ची नगरपालिका–९, ज्यामिरेकी रशिला पुरीलाई अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ ।

मोबाइलमा डाटा लिएर अनलाइन कक्षामा सहभागी हुने पुरीलाई नेटवर्कमा आउने समस्याले कक्षा लिन कठिनाई भएकाले अनलाइन पढाइले आजित बनाएको हो । डाटाबाट इन्टरनेट राम्रो सँग नचल्दा प्राविधिक विषयको पढाइ कठिन भएको उनी बताउँछिन् ।

प्रयोगात्मक पढ्नुपर्ने विषय अनलाइनमा सैद्धान्तिक मात्रै पढ्न पनि सारै गाह्रो भएको उनले बताइन् । ‘नेट राम्रोसँग चल्दैन त्यसले पढाइमा समस्या भएको छ’, पुरीले भनिन्, ‘नेट चल्ने ठाउँ खोज्दै डाँडा काँडा दौडनुपर्छ ।’ कहिले त कहाँ नेट चल्छ भन्ने खोज्दै कक्षा नै छुट्ने गरेको उनको भनाई छ । कोभिड समस्या बढेपछि सरकारले जारी गरेको निशेधाज्ञाको कारण उनको कलेजले अनलाइन कक्षा सञ्चालन गरेको हो । अनलाइन कक्षा सुरु भएदेखि नै हरेक दिन पढाइको तनाव हुने गरेको उनको गुनासो छ ।

निशेधाज्ञाका कारण राजधानी बस्ने अबस्था नभएर गाउँ फर्किएका अधिकांश विद्यार्थीलाई अनलाइन कक्षाले समस्या पारेको गुनासो गर्छन् । सामुदायिक विद्यालयले नियमित कक्षा सञ्चालनमा नल्याएपनि राजधानीका कक्षा ११ र १२ तथा स्नातक तहका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीले नियमित कक्षा सञ्चालनको अबस्था नहुँदा अनलाईन माध्यमबाट अध्यापन गराइरहेका छन् ।

गाउँमा अनलाइन कक्षामा पढ्न कठिन भइरहेको इन्द्रावती गाउँपालिका–४ की संगिता दाहाल बताउँछिन् । ‘कलेजले अनलाइन कक्षा सञ्चालन गरेको छ’, व्यवस्थापन संकायमा कक्षा ११ अध्ययनरत दाहालले भनिन्, ‘मोबाइलको नेटवर्कमा आउने समस्याले कहिलेकाहीं त पढाइ नै छाड्नुपर्ने अबस्था छ । मोबाइलमा नेट नचल्ने र चलिहालेपनि ढिलो चल्ने हुँदा राम्रोसँग पढ्न सक्ने अबस्था छैन ।’

नयाँ शैक्षिक शत्र सञ्चालन गर्न ढिला भइसकेकाले कुनै उपायबाट विद्यालय सञ्चालनमा ल्याउने स्थानीय तहहरुको तयारी छ । स्थानीय सरकारले भर्चुअल माध्यमबाट पठन पाठन सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेपनि इन्टरनेटमा सहज पहुँच नहुँदा विद्यार्थीहरु मर्कामा पर्ने सरोकारवालाहरु बताउँछन् ।

ग्रामीण भेगका सामुदायिक विद्यालयका बालबालिका सबैको इन्टरनेटमा पहुँच नपुग्ने उनीहरुको तर्क छ । सबै अभिभावकले स्मार्ट फोन चलाउने हैसियत नराख्ने भएकाले बिपन्न समुदाय अहिलेपनि इन्टरनेटको पहुँच भन्दा बाहिर रहेकाले भर्चुअल कक्षा सबैका लागि उपलव्धी मुलक हुन्छ भन्न सक्ने अबस्था नरहेको मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्ण गौतम बताउँछन् । अघिल्लो लकडाउनमा समेत विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गरेका गौतम सबै विद्यार्थी र अभिभावकमा पुग्न अनलाईन पढाइले कठिन हुने अनुभव सुनाउँछन् ।

ग्रामीण भेगमा इन्टरनेटको सहज पहुँच नहुँदा बालबालिकालाई भर्चुअल माध्यमको पढाइमा कठिनाई देखिएको ऐसेलुखर्क माविका प्रधानाध्यापक कुञ्जरमणी भट्टराई बताउँछन् । गाउँमा इन्टरनेट जडान गर्न महंगो पर्ने भएकाले मोबाइल डाटाबाट नेट चलाउँदा भरपर्दो बन्न नसकेको उनको बुझाइ छ । सबै अभिभावकले महंको पैसा तिरेर घरमा इन्टरनेट जडान गर्न सक्दैनन्, भट्टराइले भने, डाटाको भर पर्नुपर्दा विद्यार्थीको पढाइमा समस्या देखिएको छ ।

बिपन्न समुदायका अभिभावकले अझैपनि एनड्रोइड मोबाइल नचलाउने भएकाले उनीहरुका लागि भर्चुअल कक्षा चुनौति बन्न सक्ने उनको अनुमान छ । यद्यपि कोभिड नियन्त्रणमा आएन भने बैकल्पिक शिक्षाको व्यवस्था गर्नुपर्नेमा उनी सहमत देखिन्छन् । विद्यार्थीहरुले आफूले शेयर गरेर भएपनि अध्ययन अध्यापनलाई धेरै लामो समय रोक्न नहुनेमा उनको जोड छ ।

राजधानी लगायत ठाउँमा उच्च तहमा अध्ययन गर्ने मात्र हैन गाउँका सामुदायिक विद्यालयका विभिन्न कक्षमा अध्ययनरत बालबालिकाका लागि समेत भर्चुअल माध्यममा पठन पाठन सञ्चालन गर्ने बहस चलेको छ ।

ग्रामीण अभिभावकहरुको इन्टरनेटमा पहुँचलाई अध्ययन गरेर मात्र भर्चुअल माध्यम सञ्चालन गरिनुपर्ने प्रधानाध्यापक भट्टराई बताउँछन् । भर्चुअल माध्यममा सबै विद्यार्थीको पहुँच पुग्न कठिन रहेको उनको तर्क छ । ‘सबै अभिभावकसँग स्मार्ट फोन चलाउने क्षमता नहुन सक्छ’, उनले भने, ‘अवसर नहुने हरुका लागि भर्चुअल कक्षाले समान रुपमा अध्यापन गराउन सकिन्छ की सकिंदैन भन्ने प्रमुख विषय हो ।’

कोभिड समस्याका कारण पछिल्लो समय सरकारले असार १ गतेबाट नयाँ शैक्षिक शत्रका लागि पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना सुरु गर्ने घोषणा गरेको छ । कोभिड महामारी नियन्त्रण नभए कसरी अध्यापन अघि बढाउने भन्ने निश्चित नभएपनि भर्चुअल माध्यमबाट पठन पाठन अघि बढाउनुपर्ने तर्क आउन थालेका छन् । भर्चुअल माध्यम सबैको पहुँचमा नहुँदा ग्रामीण भेगमा समस्या आउँछ की भन्ने तर्क पनि आउने गरेको छ ।

भौतिक रुपमा कक्षा सञ्चालनको अबस्था नआउँदा के गर्ने भन्ने अन्यौल रहेको शिक्षकहरुको भनाइ छ । भर्चुअल माध्यम कति प्रभावकारी हुनसक्छ भन्ने अध्ययन नभएकाले सम्भावना छ की छैन भन्ने नै मुख्य चुनौती हुने एक शिक्षकले बताए । कतिपय शिक्षकमा नै प्रविधिको दक्षता नहुँदा प्रभावकारी बन्दैन की भन्ने शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ ।

‘हामी शिक्षक नै प्रविधिमा कति दक्ष छौं भन्ने कुरामा भर्चुअल कक्षा सञ्चालन भर पर्छ’, नाम उल्लेख गर्न नचाहाने उनले भने, ‘शिक्षकको दक्षतापछि विद्यार्थीको पहुँच छ की छैन भन्ने पनि विश्लेषण गरिनुपर्छ ।’

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा समेत भर्चुअल कक्षा प्रभावकारी बन्न नसकेकाले कलिला बालबालिकालाई कसरी भर्चुअल माध्यमको ट्रयाकमा ल्याउन सकिन्छ भन्ने चुनौती रहेको ती शिक्षक बताउँछन् ।

कोभिड कहरका कारण भौतिक रुपमा विद्यार्थीको उपस्थितिमा अध्यापन गराउन सम्भव नदेखिंदा पनि प्रविधिको पहुँचका कारण भर्चुअल माध्यम ग्रामीण भेगमा सम्भव नदेखिएको इन्द्रेश्वरी मावि मेलम्चीका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले बताए ।

डाटाबाट नेट चलाउँदा आर्थिक र नेटवर्क दुबैको समस्या पर्ने उनको तर्क छ । कनै माध्यमबाट पठनपाठन सुचारु गरिनुको बिकल्प नभएको बताउने श्रेष्ठ प्रविधिको अधिक उपयोग गर्ने बानी नभएकाले भर्चुअल कक्षा सञ्चालनमा समस्या आउन सक्ने तर्क गर्छन् ।

निजी विद्यालयहरुले भर्चुअल कक्षाको अभ्यास गरिसकेको भएपनि सामुदायिक विद्यालयले त्यसको प्रयोग गरेका छैनन् । उच्च शिक्षा अधययन गर्ने विद्यार्थी नै भर्चुअल कक्षाबाट सन्तुष्ट हुन नसकेकाले आधारभूत तहका बालबालिकालाई अनलाइन पढाई थप चुनौती बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्