Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा


0
Shares

काठमाडौं, कात्तिक २८ । आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ ।

मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा रहेको महिला टोली थाइल्याण्डको बैंककमा थप प्रशिक्षणमा सहभागी हुनेछ भने पुरुष टोली भारत चण्डिगढस्थित पटियालामा आयोजना हुने प्रशिक्षणमा सहभागी हुनेछ ।

ती टोलीलाई आज पोखरा रङ्गशालामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङलगायतले बिदाइ गरेका थिए ।  नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले महिला टोलीले बैंककस्थित विश्वविद्यालयका टोलीसँग १० देखि १२ वटासम्म मैत्रीपूर्ण खेलसहित अभ्यास गर्ने र पुरुष टोलीले भारतका विभिन्न स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताए ।

पुरुष टोलीमा कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दिप कार्की, रणसिं रावत, ईन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् ।

महिला टोलीमा कप्तान रञ्जना राई, बबिता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झिनमाया थापा, आइतालु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन् ।

ह्याण्डबलसहित नौ खेल पोखरामा सञ्चालन हुने सागमा छ राष्ट्रको सहभागिता निश्चित भइसकेको नेपाल खेलकूद सङ्घले जनाएको छ । रासस