
-प्रकाश लम्साल/ईमेज
बारा । जितपुर सिमरा उपमहानगरपालिकामा क्षयरोगीको संख्या अस्वाभाविक रुपमा बढ्दै गएको छ । लागुपदार्थको सेवन तथा उद्योग कलकारखानाबाट निस्कने धुलो, धुवाँका कारण क्षयरोगीको संख्या वर्षेनी बढ्दै गइरहेको हो ।
बाराको सिमरा जितपुर उपमहानगरपालिकामा ९४ जना क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा पनि यो रोग बढ्दै गइरहेको तथ्यांकले देखाएको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा वार्षिक ४५ हजारको संख्यामा क्षयरोगीे बढ्दै गइरहेकामा बाराको सिमरामा पनि त्यसको भयाबह अवस्था देखिएको छ । क्षयरोग नियन्त्रणमा स्थानीय सरोकारावाला निकायले पनि प्रभावकारी काम गर्न सकेका छैनन् ।
स्वास्थ्य कार्यालय कलैयाका क्षय कुष्ठ अधिकृत राम विनय यादव कडा परिश्रम गर्ने, खानपानमा सजगता नहुनु तथा वातावरणीय प्रदूषणका कारण क्षयरोगीको संख्या बढ्दै गइरहेको बताउँछन् ।
क्षयरोगीलाई लक्षित गरी प्रदेश २ मा ७३ वटा खकार जाँच केन्द्र, १० वटा जिन एक्सपर्ट सेन्टर तथा ८ सय २८ वटा डट्स केन्द्र सञ्चालन गरिएको छ । तर बाराका १६ स्थानीय तहले क्षयरोगसम्वन्धी निशुल्क शिविर हालसम्म सञ्चालन गर्न सकेका छैनन् ।
क्षयरोगीको संख्या वर्षेनी बढे पनि मृत्यु दर भने कम रहेको स्वास्थ्यकर्मीहरूको दाबी छ । तर क्षयरोग पीडितहरु आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको गुनासो गर्छन् ।
सिमरा, जितपुरमा औद्योगिक क्षेत्रबाट निस्कने फोहर तथा धुलोका कारण बकुलिया, औराह, डुमरबाना क्षेत्रका मजदुरहरुमा यसको संक्रमण बढ्दै गइरहेको हो । स्वास्थ्य कार्यालयका अनुसार बालुवा चाल्ने, गिट्टी कुट्ने र उद्योगमा काम गर्ने व्यक्तिलाई क्षयरोगको उच्च जोखिम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्