७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


चन्दका सुनसरी सेक्रेटरीसहित तीनजना समातिए, बम पड्काएको आरोप


0
Shares

सुनसरी, कात्तिक २७ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सुनसरी सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले सुनसरीका विभिन्न स्थानबाट मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सो समूहका सुनसरी जिल्ला सेक्रेटरी दुहबी नगरपालिका–८ का मोहन बस्नेत, युवा संगठनका सुनसरी अध्यक्ष भोजपुरका सागर राई छन् ।

यस्तै, सो समूहका सुनसरी जिल्ला सदस्य धरान उपमहानगरपालिका–११ का सुरेशकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रवक्ता अर्जुन पोखरेलले जानकारी दिए ।

प्रहरीले उनीहरु प्रदेश नम्बर–१ का विभिन्न स्थानमा बम विस्फोट गराइ फरार रहेका जनाएको छ ।

पक्राउ परेका तीनैजनाविरुद्ध बम विस्फोट गराएको आरोपमा सुनसरी जिल्ला अदालतबाट बुधबार नै म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता पोखरेलले बताए ।

प्रहरीकाअनुसार पक्राउ परेका सेक्रेटरी बस्नेतको नेतृत्वमा गएको भदौ २० गते धरानको दिल्ली पब्लिक स्कुलमा बम विस्फोट गराइ आगजनी गरिएको थियो ।

यस्तै, धरानमा आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनलाई अवरुद्ध बनाउने उद्देश्यले उनीहरु विस्फोटको योजनासमेत बनाइरहेका थिए ।