७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सौताको हत्या गरी शव झोलामा फाल्न खोज्दा…


0
Shares

सर्लाही, कात्तिक २७ । सर्लाहीको चक्रघट्टामा एक महिलाको हत्या गरिएको छ ।

हत्या आरोपमा चक्रघट्टा गाउँपालिका–४ की ३५ वर्षीया कोरैसा खातुनलाई मंगलबार साँझ प्रहरीले पक्रेको छ ।

उनले आफ्नै सौता २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेको प्रहरीले जनाएको छ ।

पराल काट्ने फलामको धारिलो हतियारले खुर्सिदाको हत्या गरिएको हो । हत्यापछि उनको शव झोलामा हालेर फाल्ने तयारी गरिएको थियो ।

तर, त्यहीबीचमा प्रहरी पुग्यो । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी सुन्दरपुरबाट प्रहरीको टोली खटिएको थियो ।

प्रहरीले कोरैसालाई पक्राउ गर्‍यो । घरको छतबाट हामफालेर भाग्न खोज्दै गर्दा उनलाई पक्रेको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए ।

प्रहरीले झोलामा हालेर फाल्न लागेको अवस्थामा शवसमेत बरामद गर्‍यो ।

हत्यामा प्रयोग गरिएको हतियार भर्‍याङमुनि लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

छिमेकीकाअनुसार कोरैसा र खुर्सिदाबीच घरायसी विवादमा पटक–पटक झगडा हुने गरेको थियो । 

उनीहरुका श्रीमान् शेख बलाल वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।

कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।