२२ मंसिर २०८०, शुक्रबार | Sat Dec 9 2023


बजेटमा भेदभावको आरोप लगाउँदै गाउँपालिकाका अध्यक्ष विरुद्ध आन्दोलनको चेतावनी


0
Shares

 सिरहा । बजेट विनियोजनमा भेदभाव गरेको भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाको बिभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयवासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उक्त गाउँपालिकाको  वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयवासीले आज गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र सबै वडामा समान ढङ्गले बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

राजनीतिक आस्थाको आधारमा आफूहरुको वडामा न्यून बजेट विनियोजन गरी अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाका अधिकांश योजनामा बढी बजेट छुट्टयाएको आरोप लगाउँदै वडा नम्बर ६ का वडाध्यक्ष राजेश्वर साह सुडीले गाउँपालिका अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षहरुको वडामा बढी बजेट छुट्टयाएर आफूहरुको वडामा एकदमै न्यून बजेट मात्र छुट्टयाएको बताए ।

गाउँपालिकाका  अध्यक्ष समाजवादी पार्टीको तर्फबाट निर्वाचित भएको र वडा नम्बर ४, ५ र ६ का वडाध्यक्षहरु नेकपा र काङ्ग्रेसबाट निर्वाचित भएका हुन् । फरक पार्टीबाट निर्वाचित भएकै कारण अध्यक्ष साहले आफूहरुको वडाबाट छनोट भएका योजना काटेर गुप्तरुपमा अर्को योजना तयार पारेर  बहुमतको आडमा आफूहरुमाथि अपमानजनक व्यवहार गरेको वडा नं ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीको गुनासो थियो ।

उनले भने, “जनसङ्ख्या र भौगोलिक बनोटको आधारमा बजेट विनियोजन नगरी गाउँपालिकाको अध्यक्षको घर रहेको वडा नम्बर ३ मा  विभिन्न योजनामा बढी बजेट विनियोजन गरिएको तर आफूहरुले छनोट गरेका अधिकांश योजनामा बजेट नै विनियोजन गरिएको छैन ।”

गाउँपालिकाबाट पारित भएका आर्थिक वर्ष ०७४/०७५ र आव ०७५/०७५ का योजनामा आफ्ना नातागोता र पार्टीका कार्यकर्तालाई सहभागी गराएकोे वडा नम्बर ५ का वडाध्यक्ष देवकुमार यादवले आरोप लगाए ।

उनले ती आवमा गाउँपालिकाबाट भएका कतिपय आयोजना समयमै  सम्पन्न नगरिएको  र कतिपय योजना सम्पन्न नहुँदै भत्किएकाले त्यसमा छानबिन गर्नसमेत  माग गरे ।

यता अध्यक्ष साहले आफूले कुनै पनि वडाध्यक्ष वा वडाका जनतासँग विभेद नगरेको जिकिर गर्दै केही वडाध्यक्षले  पुरानै योजनालाई पुनः निरन्तरता दिएकाले त्यसलाई मात्र हटाएको बताए  ।

उनले भन, “कुनै पनि वडालाई विभेद नगरी समानरुपमा बजेट विनियोजना गरिएको तर केही वडाध्यक्षहरुले मन्दिर, सडकलगायत एउटै योजनालाई वर्षेनी पेश गर्दै आएकाले त्यसलाई यस वर्ष हटाइएको मात्र हो ।”

वडाध्यक्षहरुका असन्तुष्टि समेट्न केही दिनभित्रै विशेष गाउँसभा बोलाएर पुनः योजना चयन गरिने अध्यक्ष साहले बताए । (रासस)