९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


औषधिमा ब्रह्मलूट- तेब्बरसम्म मूल्य वृद्धि, अभाव भन्दै कालोबजारी


0
Shares

–लक्ष्मणमान डंगोल, दिलिप पोखरेल र प्रज्ञा तिमल्सिना र इमेज

काठमाडौं । नेपालमा आउने औषधिमा झण्डै ६० प्रतिशत हिस्सा भारतीय औषधिको छ । तर भारतबाट आयात हुने औषधिमा तेब्बरसम्म मूल्य बढाएर बेच्ने गरेको पाइएको छ । जसको प्रत्यक्ष मार निमुखा विरामीमाथि परेको छ ।

लामो समय वीर अस्पतालमा कार्यरत डा. धुव्रप्रसाद सिंह हाल रक्त क्यान्सरबाट पीडित छन् । ७ महिनादेखि रक्त क्यान्सरसँग जुधिरहेका डा. सिंह ६ वर्ष अघि वीर अस्पतालबाट अवकाश पाएका थिए । वीर अस्पतालमा लामो समय आकस्मिक कक्षको प्रमुख भएर काम गरेका सिंह हाल वीरमा नै उपचार गराइरहेका छन् ।

उपचारका लागि आफुले निकै महंगो औषधि किन्नु परेको गुनासो गर्दै उनले एउटा औषधिलाई डेढ लाखसम्म तिरेको अनुभव सुनाए । तर सोही औषधि भारतबाट मगाउँदा भने ६४ हजार रुपैयाँ मात्र परेको उनले बताए ।

एउटै औषधिमा १ लाखसम्म नाफा खाएर बिक्री भएको थाहा पाउँदा डा. सिंहलाई असह्य भयो जुन कुरा उनले आफ्ना मिल्ने साथी एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सुनाए ।

आफू जस्तो लामो समय चिकित्सा पेशामा रहेर अवकाश पाएको व्यक्तिलाई त औषधि किन्न मुश्किल हुने अवस्था आएपछि औषधिमा भईरहेको माफियातन्त्रको विषय डा. केसीलाई समावेश गर्न भनेको उनले बताए ।

औषधि व्यवस्थापन विभागमा दर्ता नै नगरी भारतबाट औषधि ल्याएर बेच्ने गरिएको चिकित्सकहरु नै स्विकार्छन् । बजारमा औषधिको अभाव छ भन्दै कालोबजारीमा औषधि किनबेच हुने  र क्यान्सरको सस्तो औषधि समेत आयात नगर्ने पारिपाटीका कारण  क्यान्सर पीडित बिरामी मारमा पर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

क्यान्सरको एउटा औषधि ५ लाखसम्म पर्ने क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाई बताउँछिन् । एउटै औषधिमा दोब्बर, तेब्बरसम्म बढी रकम लिने गरेकोबारे सरकारले कुनै चासो देखाएको छैन ।

सरकारले क्यान्सर रोगीका लागि १ लाखसम्म छुटको त व्यवस्था गरेको छ तर एउटै औषधिको डेढ लाख पर्ने भए पछि सरकारले दिने रकम हात्तिको मुखमा जिरा जस्तो भईरहेको छ ।

सरकारले आफैले नै औषधि खरिद गरी अस्पतालको फार्मेसीबट बिक्री गराउन सके मात्र सर्वसाधारणलाई राहत हुने डा. सन्ध्या चापागाई बताउँछिन् । नेपालमा क्यान्सर रोगीको संख्या दिनानुदिन बढ्दै छ ।

विरामीको संख्या बढ्दै जाने तर औषधिको मूल्यमा मनपरी गर्न दिने हो भने विरामीहरुले सम्पत्ति र ज्यान सँगसँगै गुमाउने निश्चित छ ।