Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


उमेर नपुगेको भन्दै डोटीमा १७ वर्षीया किशोरीको विवाह प्रहरीले गर्‍यो बदर


0
Shares

काठमाडौं । डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो ।

जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज बालिकाकोे विवाह भएको भन्दै रद्द गराइपाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिनपश्चात उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो ।

विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिनुभयो ।

कानूनीरूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तरगत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानूनविपरीत विवाह गर्ने गर्नेलाई कानूनबमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानूनविपरीत विवाह गर्नेलाई कारवाही हुन्छ ।”