बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक २४ । भारतमा सम्पन्न ‘अलइन्डिया काली कुमाउ कप’को उपाधि सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जितेको छ ।
आइतबार देहरादुनमा भएको फाइनल खेलमा घरेलु टोली देहरादुन क्लबलाई ६–१ ले हराउँदै सुदूरपश्चिम–११ च्याम्पियन बनेको हो ।
सुदूरपश्चिम–११ गत वर्ष दिल्ली स्पोर्ट्स क्लबसित फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । यो वर्ष उपाधि उचाल्यो ।
सुदूरपश्चिमलाई विजेता बनाउनेक्रममा विक्रम सिंह एक्लैले ५ गोल गरे । कमल देउवाले एक गोल थपे ।
सिंहले खेलको नवौं, ११औं, १८औं, ३१औं र ७७औं मिनेटमा गोल गरेका थिए । देउवाले २४औं मिनेटमा एक गोल गरेको सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
उपाधिसँगै सुदूरपश्चिम–११ ले एक लाख भारु नगद पुरस्कार पायो । उपविजेता देहरादुनले ५० हजार भारुमा चित्त बुझायो ।
प्रतियोगितामा सुदूरपश्चिम–११ सहित भारतका विभिन्न प्रदेशका टोली सहभागी थिए ।
स्पोर्ट्स क्लब वेलफेयर सोसाइटी चम्पावतले प्रतियोगिता आयोजना गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्