
काठमाडौं, कात्तिक २४ । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरीसमक्ष उपस्थित गराइएको छ ।
काठमाडौं जिल्ला टोखा नगरपालिका–१०, सामाखुसीस्थित खरिबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।
नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जंगीअड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कानुनको बर्खिलाप गर्ने जो–कसैलाई कारबाहीको दायरामा ल्याउने संगठनको स्पस्ट नीति रहेको जनाउँदै सेनाले संगठनमा पुरस्कार र दन्ड–सजायसम्बन्धी निर्देशिका लागू गरेको छ ।
गैरकानुनी कार्यमा संलग्न सैनिक व्यक्तिहरुउपर सैनिक ऐनबमोजिम कारबाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ । रासस
प्रतिक्रिया दिनुहोस्