विशाल नेम्वाङ (इमेज)
झापा, कात्तिक २३ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापामा जारी ‘अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइजले पुलिसलाई १–० ले हराएको हो ।
चर्च ब्वाइजलाई फाइनलमा पुर्याउन खेलको २६औं मिनेटमा सुनिल खड्काले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
पेनाल्टी खेर
त्यसअघि, खेलको २३औं मिनेटमा पुलिसले पेनाल्टी प्रहारको अवसर पाएको थियो । तर, गोल गर्न चुक्यो ।
‘वान भर्सेज वान’मा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो । पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो ।
रातो कार्ड
खेलको ५४औं मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदानबाहिर पठाएका थिए । यो रातो कार्ड प्रतियोगिताकै पहिलो हो ।
दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको ‘म्यान अफ दी म्याच’ निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
आर्मीसित उपाधि भिडन्त
चर्च ब्वाइजले अब उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतको सिक्किम एफसीलाई पराजित गर्दै आर्मी फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल आउँदो सोमबार हुनेछ ।
पुरस्कार
प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।
प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।
जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाएका थिए ।





प्रतिक्रिया दिनुहोस्