Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


विधि, पद्धती मिच्नेहरूले मुख्यमन्त्री भट्टबाट शिक्षा लिन एमाले नेता भीम रावलको सुझाव


0
Shares

काठमाडौं, जेठ २५ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिनुभएको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै भट्टलाई बधाई दिँदै नेता रावलले विधि पद्धति नमान्नेहरुले भट्टबाट शिक्षा लिनुपर्ने बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको भन्दै उक्त कुरा भन्नुभएको हो ।

विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने भन्दै रावलले लेख्नुभएको छ, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

मंगलबार एमालेकै माधव नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री भट्टको पद जोगिएको थियो । अध्यक्ष ओली पक्षका ७ जनाले भने भट्टलाई मत दिएनन् ।

भट्टलाई मत नदिने केन्द्रको निर्णय विपरित नेपाल पक्षको बाहुल्य रहेको सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।